प्रिमियर लिग : रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

रहिम स्टर्लिङले ह्याट्रिक गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा वाटफोर्डलाई ३-१ ले पराजित गरेको छ।

सहज जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता समेत बनाएको छ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। तर स्टर्लिङले दोस्रो हाफको सुरुवातदेखि नै गोल गर्दै १३ मिनेटमा ह्याट्रिक पूरा गरे।

घरेलु मैदान एतिहासड स्टेडियममा शनिवार भएको खेलमा ४६औँ मिनेटमा पहिलो गोल गरेका स्टर्लिङले ५०औँ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

वाटफोर्डका लागि जेरार्ड डेउफेलेएले ६६औँ मिनेटमा एक गोल फर्काए।

जितपछि सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुल ७० अंकका साथ दोस्रो स्थानमा छ।

शनिवारै भएको खेलमा तेस्रो स्थानको टोटनहम भने अग्रता लिएर साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ। २६औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए तर त्यसलाई कायम राख्न भने सकेन।

साउथह्याम्पटनले अन्तिम १५ मिनेटभित्र २ गोल गर्दै खेल जितेको हो। यान भालेरीले ७६औँ मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काएका थिए। त्यसको पाँच मिनेटपछि जेम्स वार्ड प्रोवसले गोल गर्दै साउथह्याम्पटनलाई जित दिलाए।

हारपछि ३० खेलबाट ६१ अंक रहेको टोटनहम तेस्रो स्थानमै छ। साउथह्याम्पटनलाई भने यो जितले राहत मिलेको छ। ३० खेलबाट ३० अंक नै जोडेको साउथह्याम्पटन रेलिगेशन जोनबाट माथि उठ्दै १६औँ स्थानमा उक्लेको छ।

२०७५ फाल्गुन २६, आईतवार मा प्रकाशित