ला लिगा : रियल मड्रिडको पुनरागमन जित, बेन्जामाको दुई गोल

रियल मड्रिडले स्पानिस ला लिगामा गएराती रियल भाल्लाडोलिड विरुद्ध पुनरागमन जित हात पारेको छ। करिम बेन्जामाले दुई गोल गरेपछि १० खेलाडीमा झरेर पनि रियलले भाल्लाडोलिडलाई ४-२ ले पराजित गरेको हो।

भाल्लाडोलिडका लागि घरेलु मैदानमा अनुअरले २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उक्त अग्रता लामो समय टिकेन। ३४औँ मिनेटमा रियलका लागि राफेल भरानले बराबरी गोल फर्काए।

बेन्जामाले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। ५९औँ मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३-१ को अग्रता बनायो।

८०औँ मिनेटमा कासेमिरो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल दश खेलाडीमा झरेको थियो तर ८५औँ मिनेटमा लुका मोडरिचले गोल गर्पछि रियलले सहज जित हात पारेको हो।

जितपछि २७ खेलबाट ५१ अंक जोडेको रियलले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ५ मा झारेको छ भने चौथो स्थानको गेटाफेमाथि ६ अंकको अग्रता बनाएको छ।

समान खेलबाट ६३ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने एट्लेटिकोको ५६ अंक छ।

 

२०७५ फाल्गुन २७, सोमबार मा प्रकाशित