साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक, उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्ने

विराटनगर : पाँचौँ साफ महिला च्याम्पियनसिप फूटबल प्रतियोगिताको उपाधि जित्ने टिमले पाउने ट्रफी आज सार्वजनिक गरिएको छ। अखिल नेपाल फूटबल सङ्घ (एन्फा)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गर्नुका साथै सहभागी टोलीका प्रशिक्षक र कप्तानसँग साक्षात्कारसमेत गराइएको छ।

सो अवसरमा बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त गरे। भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताए।

यसैगरी माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म निश्चित रुपमा पुग्ने धारणा व्यक्त गरे। श्रीलङ्का महिला टोली प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले युवा खेलाडी सहभागी आफ्नो देशको टोली सेमिफाइनल पुग्ने ग्यारेण्टी व्यक्त गरे।

यसैगरी भूटानका प्रशिक्षक र कप्तानले भविष्यलाई ध्यानमा प्रतिस्पर्धा गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा नेपाली खेलाडीहरु शक्तिशाली रहेको विचार व्यक्त गरे।

नेपाली टोलीका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपाली टोलीले प्रथम स्थान हासिल गर्ने बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गरे।

सो अवसरमा एन्फाका प्रवक्ता किरण राई र आयुश खड्काले प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकाले प्रथम स्थान हासिल गर्ने धारणा व्यक्त गरे।

यही फागुन २८ गतेदेशि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच अपराह्न हुने भएको छ। प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भूटान, श्रीलङ्का र माल्दिभ्सको राष्ट्रियस्तरको महिला फुटबल टोलीको सहभागिता रहेको छ। रासस

२०७५ फाल्गुन २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment