झापा गोल्डकपको उपाधि आर्मीलाई

भद्रपुर : चौथो संस्करणको झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ। सोमवार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५-३ ले पराजित गर्दै आर्मीले तेस्रो पटक उपाधि जितेको हो।

आर्मीले यसअघि पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो। झापा भने घरेलु मैदान चार पटक फाइनल पुगेपनि चारै पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सम्पन्न खेलमा आर्मीका लागि सन्तोष तामाङले दुई गोल गरे भने कप्तान भरत खवास, नवयुग श्रेष्ठ र टेक बहादुर बुढाथोकीले एक-एक गोल गरे। झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस र भिक्टोरले गोल गरे।

च्याम्पियन आर्मीले १२ लाख ५५ हजार हात पार्दा झापाले ६ लाख ५ हजार हात पार्‍यो।

उपविजेता बनेका झापाका दिलेन लोक्ताम प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। उनले एक थान मोटरसाइकल प्राप्त गरे।

यसैगरी विधागततर्फ झापाकै देवेन्द्र तामाङले ‘बेस्ट डिफेन्स’ घोषित हुँदै २१ हजार, ‘राइजिड प्लेयर’ निशान्त खड्काले १५ हजार, ‘बेस्ट कोच’ आर्मीका चुनबहादुर थापाले २१ हजार, ‘बेस्ट किपर’ विकेश कुथुले २१ हजार र ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए।

त्यस्तै सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए। ‘बेस्ट मिडफल्डर’ झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भएका छन्।

 

फोटो : गोलनेपाल

२०७५ फाल्गुन २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment