महिला साफ च्याम्पियनसिप आजदेखि सुरु, उद्घाटन खेलमा नेपाल-भुटान खेल्दै

आजदेखि बिराटनगरमा सुरु हुन लागेको पाचौं अन्तर्राष्ट्रिय साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउसो ३ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत कमजोर मानिएको भुटान बिरुद्द नेपालले जित निकाल्दै राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ। यसअघि नेपाल र भुटानबीच सन् २०१४ र सन् २०१६ मा भएका दुई भिडन्तमा नेपालले दुवैपटक ८-० को फराकिलो अन्तरको जित निकालेको थियो।

प्रतियोगिता अघि नेपाली टिमका प्रशिक्षक हरि खड्काले टिम उपाधी जित्न सक्षम रहेको बताए। सोमबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपाली टोलीले प्रथम स्थान हासिल गर्ने बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गरे।

सो अवसरमा एन्फाका प्रवक्ता किरण राई र आयुश खड्काले प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकाले प्रथम स्थान हासिल गर्ने धारणा व्यक्त गरे।

प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भूटान, श्रीलङ्का र माल्दिभ्सको राष्ट्रियस्तरको महिला फुटबल टोलीको सहभागिता रहेको छ।

२०७५ फाल्गुन २८, मंगलवार मा प्रकाशित