साफ महिला च्याम्पियनसिप: भुटानको पोस्टमा नेपालको ३ गोल (तस्बिर सहित)

विराटनगरमा आजदेखि सुरु भएको पाँचौ साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

मंगलवार विराटनगरको शहिद रंगशालमा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको हो । पहिलो जितपछि समूह ए मा ३ अंक जोडेको नेपाल सेमिफाइनल नजिक पुगेको छ।

तीन टोली मात्र रहेको समूहमा नेपालले अर्को खेलमा शनिवार बंगलादेशसँग खेल्नेछ । त्यसअघि भुटानलाई बंगलादेशले पराजित गरेमा नेपालले एक खेल अघि अन्तिम चारमा स्थान बनाउँछ ।

नेपाललाई पहिलो खेल जिताउन मन्जली योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले एक-एक गोल गरिन् । खेलमा नेपालले गोल गर्ने केही राम्रो अवसर गुमाएको थियो। अनिता बस्नेतले तीन पटक गोल गर्ने अवसर खेर फालिन् । नेपाललाई धेरै गोल गर्नबाट रोक्न भुटानी गोलकिपरले उत्कृष्ट प्रदर्शन गरिन् ।

मन्जली योन्जनले १३ औं मिनेटमा दिपा राइको पासलाई सदुपयोग गर्दै नेपालको लागि पहिलो गोल गरेकी थिईन्। त्यसको ३ मिनेटपछी सावित्रा भण्डारीले दुई भुटानी डिफेन्डरलाई छक्काउँदै अग्रता २-० बनाएकी थिईन्।

पहिलो हाफमा २-० को अग्रता लिएको नेपालको जितमा दोश्रो हाफको १० औं मिनेटमा कप्तान निरु थापाले तेस्रो गोल थपिन्। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन।

च्याम्पियनसिपमा बुधवार समूह बी को भारत र माल्दिभ्सबीचको खेल हुनेछ।

तस्बिरमा आजको खेल (श्रोत: एन्फा)

२०७५ फाल्गुन २८, मंगलवार मा प्रकाशित