साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनलमा, भुटान बाहिरियो

विराटनगर : घरेलु टोली नेपाल र बंगलादेश एक खेल खेल्नुअघिनै पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ए अन्तर्गत बिहीवार भएको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि बंगलादेश र नेपाल अन्तिम चारमा पुगेको हो।

लगातार दुई हारपछि भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ। उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो।

विराटनगरस्थित शहिद रंगशालमा भएको खेलमा भुटानले पहिलो हाफमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा बंगलादेशले दुई गोल गर्‍यो। बंगलादेशका लागि मिश्रत जहान मौसमी र कप्तान सविना खातुनले एक-एक गोल गरिन्।

नेपाल र बंगलादेशको समान ३-३ अंक भएको छ। अब यी दुई टोलीबीच शनिवार अन्तिम लिग खेल हुनेछ। उक्त खेलबाट समूह ए को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

च्याम्पियनसिप अन्तर्गत शुक्रवार माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ। समूह बी मा यसअघि माल्दिभ्स भारतसँग ६-० ले पराजित भएको थियो।

 

२०७५ फाल्गुन ३०, बिहीबार मा प्रकाशित