मुख्यमन्त्री कप: कविता कुँवरको विस्फोटक शतक र ह्याट्रिकमा सुदुरपश्चिम फाइनल प्रवेश

धनगढीमा जारी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा नेपाली राष्ट्रिय टोलिकी सदस्य कविता कुँवरले विस्पोटक शतक प्रहार गरेसङ्गै सुदुर पश्चिम प्रदेश फाईनल प्रवेश गरेको छ ।

धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदुर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २१० रनको फराकिलो अन्तरले पराजित गरेको हो । लगातार दोस्रो जित निकाल्दै सुदुर पश्चिम फाईनल प्रदेश गर्ने क्रममा कविताले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन ।

जितको लागि २४९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेश १५ दशमलव ५ ओभरमा मात्र ३८ रनमा समेटिएको थियो । गण्डकीको लागि ब्याटिङमा झिनमाया थापाले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि कविता जोशीले ४ विकेट र कविता कुँवरले ३ विकेट लिएकीथिईन ।

यस अघि टस जितेर पहिला व्याटिङ गर्दै सुदुरपश्चिमले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै २४८ रनको उच्च योगफल तयार पारेको थियो । ब्याटिङमा सुदुरपश्चिमकी कविता कुँवरले ५८ बलमा १०१ रनको विस्पोटक शतकीय पारी खेलिन् भने विन्दु रावलले पनि ६१ बलमा ७९ रन बनाएकी थिईन ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि एलिसा लामिछानेले २ विकेट लिईन् ।

प्रतियोगितामा फाईनल पुग्ने दोस्रो टोलिको शनिबारको खेलबाट लाग्नेछ ।

(समाचार: न्युज सुदुर)

२०७५ चैत्र २, शनिबार मा प्रकाशित