नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश, बंगलादेश ३-० ले पराजित

(फिचर फोटो :  एन्फा)

विराटनगरमा जारि पाचौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समुह ‘ए’ को अन्तिम खेलमा नेपाल विजयी भएको छ। बंगलादेश विरुद्दको खेलमा नेपाल ३-० ले बिजयी भएको हो।

जित संगै नेपाल समूह बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशको लागि भोलि हुने भारत र श्रीलंका बिचको पराजित टिमसंग खेल्नेछ। यसअघि भुटानसँग समेत नेपालले ३-० को नतिजा निकालेको थियो। अंक तालिकामा नेपाल २ जित सहित ६ अंकका साथ शिर्ष स्थानमा छ भने बंगलादेश भुटान बिरुद्द २-० को जित र नेपालसँगको हार पछी ३ अंकका साथ दोश्रो स्थानमा छ।

विराटनगर स्थित शहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो गोल उपहारस्वरूप पाएको थियो। खेलको पाँच मिनेटमा नै बंगलादेशकी मसुरा प्रविनले आत्मघाती गोल गरेपछि नेपालले अग्रता लिएको थियो। प्रविनले मनमायाले सावित्रालाई पास दिएको बललाई हेडर मार्फत क्लियर गर्ने प्रयासमा आत्मघाती गोल भएको हो।

खेलको २१ औं मिनेटमा नेपालले दोश्रो गोल थप्यो। बंगलादेशको कमजोर डिफेन्सको फाइदा उठाउँदै सावित्रा भण्डारीले गोल गरिन्। यो उनको व्यक्तिगत २४ औं अन्तरास्ट्रिय गोल हो।

त्यसको ७ मिनेट पछी अर्थात २८ औं मिनेटमा सावित्राकै पासमा अन्जली योन्जनले गोल गर्दै नेपालको अग्रता ३-० बनाइन्। त्यसपछि थप गोल हुन नसक्दा नेपाल जितसहित समुह बिजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे।

२०७५ चैत्र २, शनिबार मा प्रकाशित