साफ महिला च्याम्पियनसिप: सेमिफाइनल समीकरण पुरा, नेपालले श्रीलंकासँग खेल्ने

विराटनगर – पाँचौ साफ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्ने भएको छ। विराटनगरमा भइरहेको प्रतियोगितामा आइतवार भएको अन्तिम समूहको खेलमा भारतले श्रीलंकालाई ५-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पुरा भएको हो।

अब समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता श्रीलंका तथा समूह ‘बी’ को विजेता भारतले समूह ‘ए’ को उपविजेता बंगलादेशसँग खेल्नेछ।

श्रीलंका बिरुद्द गोल गरेपछि खुसि मनाउंदै भारतीय खेलाडी (फोटो: एन्फा)

विराटनगरस्थित शहिद रंगशालमा भएको समूह बी को खेलमा भारतलाई फराकिलो जित दिलाउन ग्रेसी डाङ्गमेई, सन्ध्या रंगनाथन, इन्दुमती काथेरेसन, संगिता बासफोरे र रनत बाला देवीले एक-एक गोल गरिन्। पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल मात्र गर्‍यो। श्रीलंकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

भारत र श्रीलंकाले यसअघि नै माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए।

२०७५ चैत्र ३, आईतवार मा प्रकाशित