४५ वर्षपछि नेपाललाई एसियाली पदक : अजितलाई ऐतिहासिक स्वर्ण

काठमाडौँ : नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन्।

घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन्। उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए। सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे। यो समयसंगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन्।

यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए। सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ। उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए।

युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन्। अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए। ८ मिनेट ३६.३४ सेकेन्डमा भारतका अमित जान्गिर दोश्रो तथा ८ मिनेट ३८.६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेश्रो स्थानमा रहे।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण भएको मुख्य प्रशिक्षक थापाले जनाएका छन्। समग्रमा भने यो दोश्रो पदक हो।


४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए। त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो।

प्रशिक्षकका रुपमा धनीराम चौधरी अजितसंगै हङकङ गएका थिए। चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो। गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए।

२०७५ चैत्र ३, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment