आयोजक मकवानपुरको पोल्टामा उपाधी, विदेशी दाउफिन्स पराजित

विदेशी क्लब दाउफिन्सलाई पराजित गर्दै आयोजक मकवानपुर – ११ ले दोश्रो संस्करणको भूगर्भ सिमेन्ट शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को उपाधी जितेको छ।

हेटौडा स्थित फरेस्ट्री खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल मकवानपुरले २-१ को गोल अन्तरले जितेको थियो। प्रतियोगिताको बिजेता बनेको मकवानपुरले नगद ८ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको दाउफिन्सले नगद ४ लाख मात्र पायो।

खेलमा लिएको अग्रता जोगाउन नसक्दा दाउफिन्स पराजित भयो। उसले खेलको चौथो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो। आहेण्डल इशाहाले दिएको पासमाल यानिक ओवानाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर उक्त अग्रता धेरैबेर टिक्न सकेन। खेलको आठौँ मिनेटमा दाउफिन्सका सिलो नाङ्गाको ह्याण्ड भएपछी पाएको पेनाल्टीको अवसरमा मकवानपुरका योगेश गुरुङले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

उपविजेता दाउफिन्स (तस्बिर: प्रस्ट खबर)

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको ८१ औं मिनेटमा ओको बोटाको ह्याण्ड भएपछि मकवानपुरले पुनः अर्को पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई गोलमा परिणत गर्दै योगेश गुरुङले आफ्नो दोश्रो व्यक्तिगत गोल समेत गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा खेल मकवानपुरले जित्यो।

फाइनल खेलको प्लेयर अफ द म्याच चुनिएका मकवानपुरका हिसुब थपलियाले पुरस्कार स्वरूप नगद १० हजार रुपैया प्राप्त गरे। यस्तै उत्कृस्ट खेलाडी चुनिएका मकवानपुर – ११ का कप्तान अशोक बरालले नगद ७५ हजार तथा उत्कृस्ट गोल किपर समेत चुनिएका बरालले थप १० हजार समेत पाए।

मकवानपुरका योगश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । दाउफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरु सबैले जनही जनही १० हजार प्राप्त गरे।

२०७५ चैत्र १६, शनिबार मा प्रकाशित