ओलम्पिक छनोट: म्यानमारसँग नेपाल ३-१ ले पराजित

सन् २०२० मा टोकियोमा हुन लागेको ओलम्पिक अन्तर्गत महिला फुटबलको दोश्रो चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग पराजित भएको छ। घरेलु भूमिमा भएको खेलमा म्यानमार ३-१ गोल अन्तरले विजयी भयो।

पहिलो हाफको समाप्तीमा दुवैतर्फबाट एकएक गोल भएपनि दोश्रो हाफमा सम्हालिन नसक्दा नेपालले थप २ गोल खान पुग्यो।

पहिलो हाफमा आक्रामक खेल प्रस्तुत गरेको म्यानमारले २४ औं मिनेटमा यी यी ओको गोलबाट अग्रता लिएको थियो। त्यसपछि इन्जुरी समयमा नेपालकि कप्तान निरु थापाले गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा सकाउन मद्दत गरिन्।

(तस्बिर: म्यानमार फुटबल फेडेरेसन)

दोश्रो हाफको सुरुमा नै म्यानमारले पुनः अग्रता लियो। नेपालले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी अवसरलाई म्यानमारले गोलमा परिणत गरेको हो। ४८ औं मिनेटमा विन थिएंगी तुनले पेनाल्टी प्रहार गरेकी हुन्।

त्यसपछि इन्जुरी समयको अन्तिममा यी यी ओले आफ्नो व्यक्तिगत दोश्रो तथा टिमको लागि तेस्रो गोल गरेकी थिईन्।

आजै भएको अर्को खेलमा भारतले इन्डोनेसियालाई २-० गोल अन्तरले पराजित गर्यो। नेपालले आफ्नो दोश्रो खेलमा ६ तारिखमा भारतको सामना गर्नेछ।

२०७५ चैत्र २०, बुधबार मा प्रकाशित