‘ज्याभ्लिन थ्रो’ मा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

दाङ, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकला लाम्गाडेले शुक्रबार इटहरीमा सम्पन्न सातौं राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन् ।

दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् ।

पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन् । आर्मीकी लक्ष्मी थारु दोश्रो तथा एपीएफकी सीमाकुमार थारु तेश्रो भए । उक्त स्पर्धमाको पुरुषमा आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोश्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेश्रो बने ।

पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् ।

प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेश्रो भए । पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए । उनले ६.९६ मिटर हाम्फाले । प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।

२०७६ बैशाख ६, शुक्रबार मा प्रकाशित