दोस्रो दिन पनि जितिन गौरिकाले कीर्तिमानी स्वर्ण

नेपालगञ्ज, वैशाख ९ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा विभागीय टोली त्रिभुवन आर्मीकी गौरिका सिंहले सोमबार दुई स्वर्ण पदक जित्दै एक राष्ट्रिय कीर्तिमान रच्न सफल भएकी छिन् ।

आइतबार सम्पन्न पहिलो दिनको खेलमा दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी त्रिभुवन आर्मीकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन् । गौरिकाले एक सय मिटर फ्रिस्टाइलमा निर्धारित दूरी ५९.६० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । सोही स्पर्धामा सोफिया शाहले निर्धारित दूरी १ मिनेट २.५९ सेकेन्डमा पार गर्दै रजत पदक हात पार्दा एपिएफकी टिसा शाक्यले १ मिनेट २.५९ सेकेन्डमा पार गर्दै कांस्य हात पारिन् ।

सोमबारै आर्मीकी गौरिकाले महिला ४ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण पदक हात पारिन् । उनले निर्धारित दूरी ४ मिनेट ४४.८१ सेकेन्डमा पूरा गरेकी हुन् । आर्मीकै डुआना लामाले रजत पदक हात पार्दा एपिएफकी टिसा शाक्यले कास्य पदकमा चित्त बुझाइन । सोहि स्पर्धामा पुरुषतर्फ एनआरएनका नाथन शेर्पा ४ मिनेट ३३.०९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । एपीएफका नासिर हुसेन र उर्गेन महर्जनले क्रमश रजत र कास्य पदक जिते ।

पुरुष १ सय मिटर फ्रीस्टाइलमा एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जिते । आर्मीका एलेक्सले ५५.६३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते पनि हिट्स चरणमा लिएको समय ५५.३८ सेकेन्ड उनको नाममा कीर्तिमान रहेको हो । सोही स्पर्धामा पुलिसका साएद हम्जा शाहले रजत पदकमा चित्त बुझाउँदा आर्मीका अनुभव सुब्बाले कास्य पदक प्राप्त गरे ।

पुरुष ५० मिटर बटरफ्लाईमा पुलिसकी साएद हम्जा शाहले २७ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जिते । आर्मीका अनुभव सुब्बाले रजत पदक हात पर्दा एपिएफका तेन्जिङ गुरुङले कास्य पदक हात पारे । महिला ५० मिटर बटरफ्लाईमा आर्मीकी सोफिया शाह ३३.५० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्न सफल भइन । पुलिसकी अनुसिया तन्डुकार दोस्रो र एपीएफकी श्रीवी महर्जन तेस्रो भए ।
पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका शुभम श्रेष्ठले २ मिनेट ३१.४४ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जित्दा पुलिसका दीपंकर अवाले स्वर्ण र प्रदेश १ का बेदग्य राज जोशीले कास्य पदक हात पारे । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले २ मिनेट ५५.०९ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पार्दा आर्मीकै उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्शा वैद्यले रजत पदकमा चित्त बुझाए ।

२०७६ बैशाख ९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment