करातेमा विभागलाई प्रदेशको दबाब

दाङ वैशाख ९ । प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन् ।

दाङको तुल्सीपुरस्थित करातेको कभर्डहलमा भएको खेलमा नवीनले पुरुष ६७ केजी तौलसमूह र अस्मिताले महिला ५५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् । नविनले फाइनलमा एपिएफकी सुवा घतानीलाई स्तब्ध बनाए । सोही तौलमा प्रदेश–१ का रोजन खड्का र अर्जुनकुमार बाघचनले संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए । ५५ केजीमा अस्मिताले एपिएफकी सोनी राईलाई हराइन् ।

सोही तौलमा पुलिसकी अर्मिला डिसी र त्रिभुवन आर्मीकी सन्ध्या घिसिङले कांस्य पदकमै चित्त बुझाए । पुरुषको ८४ केजीमा नेपाल पुलिसका दिवस श्रेष्ठले स्वर्ण जित्दा एपिएफका भीम तामाङलाई फाइनलमा हराए । सोही तौलमा सुदूरपश्चिम प्रदेशका हेमराज थापा र प्रदेश–५ का नारायण गुरुङले कांस्य पदक जिते ।

पुरुषकै ७५ केजीमा नेपाल पुलिसका गंगाराम कुसवारले फाइनलमा प्रदेश–५ का उमेश गुरुङलाई हराउँदै स्वर्ण जितेका छन् । सो तौलमा सुदूरका लोकेश पार्की र एपिएफका मोहम्मद आलमले कांस्य पदक जिते । ६८ केजीमा तौलसमूहमा आर्मीकी शनि तामाङले स्वर्ण जित्न फाइनलमा प्रदेश–३ की निरूपा तामाङलाई हराइन् । उक्त तौलमा एपिएफका रूपा महर्जन र शर्मिला घर्तिमगर कांस्य जित्न सफल भए ।

२०७६ बैशाख ९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment