आर्मी र पुलिस पुरुष भलिबलको फाइनलमा

खजुरा, बैशाख १० । विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको उपाधि लागि भिड्ने भएका छन् ।

बाँके स्थित खजुराको नव निर्मित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइलन खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो । यस्तै मंगलबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो ।

उपाधि नजिक पुग्नका लागि आर्मीले एपिएफलाई ३–२ को सेटमा हराउन सफल भएको हो । १८–२५ को पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलको तेस्रो सेटमा आर्मीले ३१–३३ को स्कोर सुम्पियो । चौथो सेटमा पनि उत्कृष्ट पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्दा दुबै टोलीले २–२ सेटको नतिजा हात पार्न सफल भएका थिए । अन्तिम तथा निर्णायक सेटमा आर्मीले १५–११ को जित निकाल्न सफल भयो । निर्णायक सेटको जितसँगै आर्मीले अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।

मंगलबारै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पुलिसले गण्डकीमाथि ३–१ को सेटमा उपाधि यात्रा तय गर्न सफल भयो । पहिलो र दोस्रो सेटमा समान २५–१५ को जित निकालेको पुलिसले तेस्रो सेट भने २०–२५ले गुमाएको थियो । २–१ को सेट आफ्नो पक्षमा पार्न सफल पुलिसले चौथो सेट २५–२० ले पक्षमा पार्न सफल हुँदा आर्मीसँगको भेट पक्का ग¥यो ।

विभागीय तीन टोली सहित सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बुधबार विहान हुनेछ ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित