फराकिलो जितपछि लिभरपुल पुनः शीर्ष स्थानमा

लन्डन, बैशाख १४ (खेल नेपाल)– पाहुना टोली हडल्सफिल्डमाथि ५–० को फराकिलो जित निकाल्दै उपाधि होडमा रहेको लिभरपुल शुक्रबार राति इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानको साविकको विजेता म्यानचेस्टर सिटी भन्दा एक खेल बढी खेलेको लिभरपुलले दुई अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष दुई टोलीको पछिल्ला खेलमा निकालेको जितसँगै उपाधि हो निकै रोमाञ्चक बन्दै गएको छ । लिगमा दुई खेल बाँकी रहँदा लिभरपुलको ९१ अंक भएको छ भने एक कम खेलेको सिटीको ८९ अंक रहेको छ ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा फराकिलो जित निकाल्नका लागि मोहम्मद सालाह र साडियो मानेले समान २/२ गोल गर्दा नावी केइटाले एक गोलको योगदान गरेका थिए ।

खेलको सुरुआतबाट नै आक्रामक देखिएको लिभरपुलले १५ सेकेन्डमा नै अग्रता लिन सफल भएको थियो । नावी केइटाले मोहम्मद सालाहको पासलाई सदुपयोग गर्दै भ्रमणकारी टोली विरुद्ध सुरुआती अग्रता दिलाएका थिए । हावी भएको हडल्र्सफिल्ड विरुद्ध २३ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता २–० को अवस्थामा ल्याए । पहिलो हाफको अन्तिम मिनेटमा सालाहले गोल गर्दै अग्रता ३–० मा पुर्याए । पहिलो हाफमा लिएको ३–० अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो ।

६६औं मिनेटमा मानेले पुनः गोल गर्दै अग्रता ४–० मा पुर्याउँदा खेल सकिन ७ मिनेट बाँकी रहँदा सालाहले गोल गर्दै टोलीको फराकिलो जितलाई सुनिश्चित गरे । फराकिलो जित निकाल्न दुई/दुई गोल गरेका सालाह र माने जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । २१ गोल पूरा गर्दै सालाह र मानेले म्यानचेस्टर सिटीका सर्जियो एग्युरो र आर्सनलका पाईरि इम्रिकलाई पछि पार्दै गोल्डेन बुटका लागि प्रतिस्पर्धामा छन् ।

लिग सकिन दुई खेल बाँकी रहँदा लिभरपुलले अब न्युक्यासल र उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । उपाधिको होडको अर्को टोली म्यानचेस्टर सिटीले लिगको समापन गर्न वर्नली, लेस्टर सिटी र ब्रिङ्टोनसँग खेल्न बाँकी छ ।

२०७६ बैशाख १४, शनिबार मा प्रकाशित