जावलाखेल दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं, १६ बैशाख । उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ग्रान्डमास्टर जावलाखेल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको उद्घाटन खेलमा जावलाखेलले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

खेलको चौथो मिनेटमा नै विदेशी खेलाडी ड्यानियल बेजेले गरेको गोल नै निर्णायक बन्यो । बेजेले आर्मी सम्हालिन नपाउदै गोल गर्न सफल भएका थिए । खेलमा १–० ले पछि परेपछि आर्मीले जावलाखेललाई दवावमा राखेपनि गोल गर्न सफल भएन । १६औं मिनेटमा आर्मीले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो । कप्तान भरत खवासको फ्रिकिकलाई जावलाखेलका गोलरक्षक अरुण तामाङले पञ्च गर्दै बचाए ।

२६औं मिनेटमा अरुज सिंहको फ्रिकिकमा ड्यानियलको हेडर बाहिरिदा जावलाखेलले खेलमा अग्रता दोब्बर पार्ने मौका गुमायो ।
दोस्रो हाफको शुरुमै आर्मी बराबरी गोल गर्नबाट चुक्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीले ५२औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा आर्मी पुन बराबरीबाट चुक्यो । त्यसपछि पनि आर्मीले जावलाखेललाई दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो । यता, जावलाखेलले एक गोल गरेसँगै रक्षात्मक र काउन्टर अट्याक खेल्दै अग्रता जोगाइराख्न सफल भयो । जावलाखेलका बिशाल तामाङ खेलको म्यान अफ दि म्याच भए ।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा सोमबार फ्रेन्डस् क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment