एन्फाको विधान संशोधन प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघद्वारा ठाडै अस्विकृत

काठमाडौं, वैशाख १७ (खेल नेपाल) – कोलम्बो आक्रमणपछि नेपालमा तय भएको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान संशोधन प्रस्तावलाई मंगलबार अस्वीकृत गरेको छ ।

काठमाडौंको एक पाँच तारे होटलमा मंगलबार बसेको साधारणसभामा एन्फाले राखेको अविस्वासको प्रस्तावलाई भेलाले सोझै अस्वीकृत गरेको भेलामा उपस्थित एक पदाधिकारीले जानकारी दिए ।

नेपाली फुटबल सर्बोच्च निकाय एन्फाले दक्षिण एसियाली फुटबटल महासंघका पदाधिकारी र सदस्यविरुद्ध कुनै पनि समयमा अविश्वासको प्रस्ताव राख्ने पाउनुपर्ने भन्दै विधान संशोधनका लागि प्रस्ताव गरेको थियो । तर, एन्फाको उक्त प्रस्तावलाई भेलाले छलफल लान अयोग्य ठहर गर्दै ठाडै अस्वीकृत गरेको हो ।

काठमाडौं सोल्टीमा बसेको उक्त बैठकमा एन्फाका महासचिव इन्द्रमान तुलाधारले पनि आफूहरुले अघि सारेको विधान संशोधनको प्रस्तावलाई भेलाले अस्वीकृत गरेको स्वीकार गरे ।

‘प्रजातान्त्रीक अभ्यास अनुसार सबै क्षेत्रमा नेतृत्वमाथि अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने नियम हुन्छ,’ एन्फा महासचिव तुलाधारले भने, ‘हाम्रो एन्फामा पनि सोही विधान लागु छ । अन्य क्षेत्रमा पनि छ । त्यसैले हामीले संशोधनका लागि प्रस्ताव गरेका हौं । तर कंग्रेसले स्वीकार गरेन ।’ यद्यपि, एन्फाका पूर्वअध्यक्षसमेत रहेका मणी कुँवरलाई दक्षिण एसियाली फुटबल महासंघको उपाध्यक्षबाट हटाउने योजनाअनुरूप एन्फाले उक्त प्रस्ताव अगाडि सारेको थियो । निर्वाचित कार्यकाल बाँकी छँदाछँदै महासंघबाट आफूलाई हटाउने योजनाअनुरूप संसोधन प्रस्ताव अघि सारेको आरोप मणिकुँवरले लगाए ।

भेलाबाटै आफूलाई हटाउँदै एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई उपाध्यक्षमा मनोनित गर्न एन्फाका वर्तमान नेतृत्वले प्रस्ताव गरे पनि कंग्रेसले अस्वीकृत गरेको कुँवरले बताए । ‘उहाँहरूले एन्फामा मेरो संलग्नता नभएकाले महासंघबाट हटाउन लिखित रूपमै प्रस्ताव गर्नुभयो,’ कुँवरले भने,‘ एन्फाका वर्तमान अध्यक्ष भएको त्यसैले महासंघको उपाध्यक्षमा मनोनित गर्न प्रस्ताव गर्न अग्रह गर्दै प्रस्ताव राख्नु भएको थियो । तर, भेलाले अस्वीकृत गरेको हो ।’

उक्त सभामा एन्फाको तर्पmबाट अध्यक्ष कर्माछिरिङसहित महासचिव इन्द्रमान तुलाधार, सदस्यद्वय मधुसुदन उपाध्यय र रविन्द्रनाथ कोजु श्रेष्ठ सहभागी भएका थिए । साधारणसभाले उमेर समूहको प्रतियोगिता गर्ने र एएफसीको सदस्यका लागि दक्षिण एसियाली महासंघका अर्का उपाध्यक्ष अनुराग डी सिल्भालाई पठाउने निर्णय समेत गरेको छ ।

साधारणसभाले पुरुषको साफ यु–१८ नेपालमा र यु–१५ भारतमा आयोजना गर्ने निर्णय गरेको थियो । साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौंमा हुनेछ । साफ यु–१५ च्याम्पियनसिप भने अगस्ट २२ देखि ३१ सम्म भारतमा हुने भएको छ । महिलाको साफ यु–१५ च्याम्पियनसिपको आयोजनामा भने टुंगो लाग्न सकेन । यद्यपि, भुटान वा बंगलादेशमध्ये एक देशले आयोजना गर्ने निर्णय भने भइसकेको छ ।

यसअघि श्रीलंकाको कोलम्बोमा तय भएको साधारणसभामा कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि काठमाडौं सारिएको थियो । उक्त साधारणसभाले लेखा परीक्षण र आगामी वर्षको बजेट पनि पारित गरेको छ ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित