प्रेरणा र अश्लेषा फाइनलमा

काठमाडौं, बैशाख २० । प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा प्रेरणाले गंगा शर्मालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । अर्को सेमिफाइनलमा अश्लेषाले आइरा रावतलाई ६–३ र ६–२ को सीधा सेटमा हराइन् ।

पुरुष सिंगल्समा प्रदीप खड्का र आइभान हो लिसानेविच उपाधिका लागि भिड्ने छन् । प्रदीपले निक रास्त्रुपलाई ६–७, ६–३ र ६–२ तथा आइभनले प्रणव खनाललाई ६–० र ६–३ को सेटमा पाखा लगाए । पुरुष ६५ वर्षमाथि सिंगल्स फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारले गौतमलाल प्रधानलाई ४–१ र ४–१ को सेटमा निराश पार्दै पहिलो भए । पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले स्वर्ण जिते । फाइनलमा उक्त जोडीले कमल थापा र छ्याम्बा धोन्डुपको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छाए ।

पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले राजु श्रेष्ठ र सिमान्त गुरुङको जोडीलाई ६–३ र ६–० को सोझो सेटमा फाइनलमा पन्छ्याउदै पहिलो स्थान हात पारे । सोही उमेरसमूहको सिंगल्समा कमलले अर्को स्वर्ण जिते । फाइनलमा कमलले छेवाङ लामालाई ६–२ र ६–२ ले हराए ।

पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घलेले करिममुल्लाह मुस्लिमलाई ६–० र ६–२ तथा कमल थापाले सुशिलराज पाण्डेलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ४५ वर्षमाथि डबल्समा गोपी भट्टराई र धरम लामिछानेको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–३ र ७–६ तथा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले चन्द्र शाही र दिनेश तुलाधरको जोडीलाई ६–२, ४–६ र १०–४ को सेटमा हराउदै फाइनलमा पुगे ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा राजु श्रेष्ठले मनोज शाहलाई ६–४, ४–६ र १०–७ तथा चन्द्र शाहीले राजु राईलाई ६–२ र ६–० ले पाखा लगाउदै फाइनल भेट पक्का गरे । मिक्स डबल्सको फाइनल सन्तोष खत्री र गंगा शर्मा तथा दिदीभाइ अश्लेषा र आइभन हो लिसानेविचको जोडीबीच हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित