रोमाञ्चक खेलमा रियाल मड्रिड विजयी

म्याड्रिड, वैशाख २३ (एजेन्सी)– मारियानो डायजको दुई गोलको मद्दतमा आइतबार स्पेनिस ला लिगामा रियाल म्याड्रिडले भिल्लारियललाई ३–२ गोलले पराजित गरेको छ ।

रियालको घरेलु मैदानमा भएको खेलमा रियालले दोस्रो मिनेटमा मारियानाको गोलबाट सुरुआती अग्रता लिएको थियो । निकै आक्रामक देखिएको भिल्लारियलले ११ औं मिनेटमा बराबरी गोल फर्कायो । भिल्लारियलका लागि जिरार्ड मोरेनोले ११ मिनेटमा बराबरी गोल फर्काउँदा खेल निकै रोमाञ्चक बनेको थियो ।

पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा रियाका लागि जिसस भालेजोले गोल गर्दै भ्रमणकारी टोलीविरुद्ध पुन अग्रता दिलाए । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलमा रहेको रियालले दोस्रो हाफमा आक्रामक खेललाई निरन्तरता दियो । ४९ मिनेटमा मारियानोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे । पछि परे पनि आक्रामक देखिएको पाहुना टोली भिल्लारियलले इन्जुरी टाइम गोल गर्दै खेलमा फर्किन प्रयास गरे पनि बाँकी समयमा सफल हुन सकेन ।

लिगमा रियल अन्तिम २ खेल बाँकी रहदा ६८ अंक जोडेर तेस्रो स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र च्याम्पियन बनिसकेको बार्सिलोनाको ८३ अंक छ ।

२०७६ बैशाख २३, सोमबार मा प्रकाशित