पाथीभरा राष्ट्रिय पुरुष भलिबलः फाइनलमा पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनायो ।

नारायणी माविको खेल मैदानमा पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा पराजित गर्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिससंगको भेट पक्का गर्यो । आर्मीले एपीएफलाई २५–२१, २५–२०,२०–२५ र २६–२४ को सेटमा पराजित गर्यो ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

२०७६ बैशाख २५, बुधबार मा प्रकाशित