विश्व र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपाल पाँचौं 

काठमाडौं, जेठ २ । अस्ट्रेलियामा जारी १८औं विश्व र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ।

क्विन्सल्यान्डस्थित टुली नदीमा जारी च्याम्पियनसिपको पहिलो दिन स्प्रिन्टमा पुरुष खुलातर्फ नेपालको टोलीले पाँचौ स्थान हात पारेको हो । स्प्रिन्ट विधामा ब्राजिल पहिलो हुँदा जापान दोस्रो, रूस तेस्रो न्युजिल्यान्ड चौथो भएका छन् ।

पहिलो भएको ब्राजिलले निर्धारित दूरी २४२.५२ सेकेन्डमा पूरा गर्दा दोस्रो भएको जापानले २४३.४९ सेकेन्ड, तेस्रो भएको रूसले २४३.९९ सेकेन्ड, चौथो भएको न्युजिल्यान्डले २४६.६७ सेकेन्ड र पाँचौं भएको नेपालले २४७.७८ सेकेन्डमा पूरा गरेका थिए ।

विश्व र्याफ्टिङको स्प्रिन्टमा नेपालले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट नतिजा हो। सुरज गुरुङको कप्तानीमा उत्रिएको नेपाली टोली सम्मिलित स्पर्धामा १६ देशको सहभागिता थियो ।

सुरजसहित शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेको नेपाली टोलीले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा सफलता हात पारे नेपालको क्वार्टरफाइनल भेट ब्राजिल या चेक रिपब्लिकसँग हुनेछ ।

२०७६ जेष्ठ २, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment