म्यानचेस्टर सिटीलाई एफए कप फुटबलको उपाधि

एजेन्सी । यस सिजनको प्रिमियर लिगको उपाधि रक्षा गरेको म्यानचेस्टर सिटीले शनिबार राति एफए कप फुटबलको उपाधि जितेको छ ।

वाट्फोर्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै यसै सिजन काराबाओ कप पनि उचालको सिटीले फाइनलमा फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भएको हो । यो सँगै सिटीले एकै सिजन घरेलु तीन प्रतियोगितामा उपाधि जित्ने पहिलो टोली बनेको छ ।

वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले समान २/२ गोल गर्दा डेभिड सिल्भा र केभिन डी बु्रयनो एक/एक गोल गरे ।

प्रिमियर लिगको उपाधि जितेसँग उच्च मनोलबमा रहेको सिटीले पहिलो हाफमा दुई गोल सफल भएको थियो भने दोस्रो हाफमा थप चार गोल गर्दै फाइनलमा फराकिलो जित निकाल्दै कीर्तिमान पनि बनाएको हो ।

खेलमा डेविड सिल्भाले २६ औं मिनेटमा गोल गर्दै सिटिलाई सुरुआती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा सन्तुलित प्रदर्शन गरेको वाट्फोर्डले दोस्रो हाफमा आक्रामक खेल्यो । यद्यपि उसको त्यो रणनीति सफल हुन सकेन । ६१ औं मिनेटमा डि बु्रयतानाले टोलीका लागि तेस्रो गोल थप्दै सिटीका अग्रता थप मजबुत बनाए ६८ औं मिनेटमा जिससले सिटीका लागि चौंथो गोल गर्दा ८१ र ८७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दैै उपाधि सुनिश्चित गरे ।

एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको सिटीले यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितेको थियो ।

२०७६ जेष्ठ ५, आईतवार मा प्रकाशित