१८औं विश्व र्याफटिङ च्याम्पियनसिपमा नेपाल समग्रमा दशौं

काठमाडौं । अस्ट्रेलियामा सम्पन्न १८औं विश्व र्याफटिङ च्याम्पियनसिपअन्तर्गत आइतबार सम्पन्न डाउन रिभरतर्फको स्पर्धामा नेपाल छैटौं भएको छ ।

क्विन्सल्यान्डस्थित टली नदीमा आइतबार सम्पन्न डाउन रिभरको स्पर्धासँगै नेपालले १८औं विश्व र्याफटिङ च्याम्पियनसिपको यात्रा टुङ्ग्याएको छ । डाउन रिभर अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम च्याम्पियनसिपको शीर्ष १० मा रह्यो ।

प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न स्लालोम स्पर्धामा समग्रमा १३औं स्थानमा रहेको नेपालले पुछारमा आठ देशको समूहबाट डाउन रिभरको प्रतिस्पर्धा सुरु गरेको थियो । उक्त समूहमा पहिलो भएको नेपालले निर्धारित दूरी ४६ मिनेट ४८.३० सेकेन्डमा पूरा गर्दा छैटौं स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको हो ।

सोही स्पर्धामा न्युजिल्यान्डले निर्धारित दूरी ४४ मिनेट ५८.४१ सेकेन्डमा पूरा गरी पहिलो बन्दा रूसले ४५ मिनेट ३३.२७ सेकेन्ड समय खर्चिएर दोस्रो र ब्राजिलले ४६ मिनेट २४.९७ सेकेन्ड समय खर्चिएर तेस्रो भए । १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालभन्दा अघि चेक रिपब्लिक र जापान रहे ।

आइतबारको समापनसँगै नेपाल समग्रतमा दशौं बन्यो । यो नै विश्व र्याफटिङ च्याम्पियनसिपमा नेपालको सबभन्दा राम्रो प्रदर्शन हो । पुरुष खुलामा ब्राजिलले उपाधि रक्षा गर्दा स्प्रिन्ट र स्लालोममा स्वर्ण पदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउन रिभरमा तेस्रो बने पनि चार स्पर्धाको अंकको आधारमा ब्राजिल पुनः विजेता बन्यो ।

२०७६ जेष्ठ ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment