इन्डियन वुमन्स लिग: सेमिफाइनलमा सावित्राको ४ गोल, टिम फाइनलमा प्रवेश

  • खेलनेपाल, जेठ ६ – सोमबार

भारतमा जारि हिरो इन्डियन वुमन्स लिग (आईडब्ल्युएल) अन्तर्गत सेमिफाइनल खेलमा एसएसबी सेन्ट्रलवुमन्स फुटबल टिमलाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेथु फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

लुधियानामा जारि प्रतियोगिताको सेमिफाइनलमा नेपालको राष्ट्रिय टिमकी सदस्य समेत रहेकी सावित्रा भण्डारीले ४ गोल गरेकी छन्। खेलमा सुरुवात देखिनै मैदानमा उत्रिएकी उनले खेलको ४१ औं मिनेटमा आफ्नो पहिलो गोल गरेकी थिइन्। त्यस्तै खेलको ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी उनले ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरेकी हुन्।

खेलको अन्तिम मिनेटमा पुनः अर्को गोल थिइन्। यो उनको तेस्रो ह्याट्रिक तथा दोश्रो खेलमा चार गोल रहेको छ। यसअघि उनले डेब्यु खेलमा समेत ४ गोल गर्दा बाँकी २ खेलमा १/१ गोल गरेकी थिइन् भने चौथो खेलमा ह्याट्रिक गरेकी थिइन्। समुह चरणको अन्तिम खेलमा उनले गोल गरेकी थिइनन्।

Image

सेथुको लागि प्लेयर अफ द म्याच समेत घोषित अर्की स्ट्राइकर ग्रेसले समेत ह्याट्रिक पुरा गरिन्। उनले खेलको १३ औं, ४८ औं र ५२ औं मिनेटमा गोल गरेकी थिइन्।

बुधबार हुने फाइनल खेलमा उपाधीको लागि सेथु फुटबल क्लबले मणिपुर पुलिस क्लबको सामना गर्नेछ। मणिपुरले आजै सम्पन्न अर्को सेमिफाइनलमा गोकुलम केरेला फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्यो।

२०७६ जेष्ठ ६, सोमबार मा प्रकाशित