अन्तराष्ट्रिय बक्सिङ च्याम्पियनसिपः माला राई मेरी कोमसँग पराजित

काठमाडौं । दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालकी माला राई छ पटककी विश्व विजेता मेरी कोमसँग पराजित भएकी छिन् ।

सोमबारबाट भारतको गुवाहाटीमा आयोजना भएको प्रतियोगितामा नेपालकी माला ५१ केजी तौल समूह अन्तर्गत अंकको आधारमा पराजित भएकी हुन् । मालाले भारतकी मेरीसँग युनिनमस नतिजाको आधारमा पराजित भएकी हुन ।

अघिल्लो संस्करणकी स्वर्ण विजेता मेरीले मालाई ५–० ले स्तब्ध पारेकी हुन् । इन्डियन बक्सिङ फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन् । जसमध्ये चारजना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

पहिलो संस्करमा महिलातर्फ नेपालले २ कांस्य जितेको थियो । गत संस्करण विमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महत्वपूर्ण २ कांस्य पदक दिलाएका थिए ।

पुरूष तर्फको ५२ केजीमा तेजबहादुर देउवा, ५६ केजीमा सुरेन्द्र राई, ६० केजीमा प्रकाश लिम्बु ईजम, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा विकास लामा र ९१ केजीमाथि तौलसमूहमा आषिश दवाडीले प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिप २४ राष्ट्रका बक्सरले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

२०७६ जेष्ठ ७, मंगलवार मा प्रकाशित