सन्दिप लामिछाने अष्ट्रेलिया प्रस्थान, यस्तो छ उद्देश्य

काठमाडाैं । इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलेर गत साता नेपाल फर्किएका सन्दिप लामिछाने हप्ता दिने नेपाल बसाइपछि पुनः नेपाल बाहिरिएका छन्।

स्टार नेपाली लेग स्पिनर मंगलवार दिउँसो १ बजे अष्ट्रेलिया प्रस्थान गरेका हुन।

राष्ट्रिय क्रिकेट टिम तथा सन्दिपका समेत व्यवस्थापक रहेका रमन शिवाकोटीले  जानकारी गराए अनुसार सन्दिप करिब ३ हप्ता अस्ट्रेलिया रहनेछन्।

शिवाकोटीका अनुसार सन्दिपको भ्रमणमा औपचारिक कार्यक्रम नभएता पनि अस्ट्रेलिया भ्रमणको क्रममा क्रिकेट विकास तथा बिग ब्यास लगायत अन्य महत्वपूर्ण कामहरु रहेका छन्।

“औपचारिक भ्रमण हैन। उनि १८-२० दिन अस्ट्रेलिया रहनेछन्। यो भ्रमण क्रिकेट विकासको लागि हो जसमा भविष्यका योजनाहरु तथा बिग ब्यासको काम अरु कुराहरु पनि समावेस छन्”

शिवाकोटीका अनुसार सन्दिपले अस्ट्रेलिया रहंदा त्यहाँको ग्रेड क्रिकेटमा नेपाली क्रिकेटरहरुलाई खेलाउन पहल समेत गर्नेछन्। सन्दिपले २ वर्ष अघि अस्ट्रेलियामा माइकल क्लार्कको क्लब वेस्टर्न सबर्ब्सको लागि ग्रेड क्रिकेट खेलेका थिए।

आईपीएल बाट फर्किएपछि आफ्नो परिवारसंग समय बिताउन चितवन पुगेका सन्दिपले त्यसक्रममा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि भ्रमण गरेका थिए। यस्तै सन्दिप आफुले पहिले खेलेको चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक राजु खड्कासंगै क्रिकेट टिप्स पनि दिएका थिए।

अस्ट्रेलिया प्रस्थान गर्नु अघि सन्दिपले काठमाडौँमा उनका प्रिय गायक राजु लामाको सांगीतिक यात्राको २५ औं वर्ष मनाएका थिए। लामाको ‘ मंगोलियन हार्ट ‘ को फ्यान सन्दिप आफैले गायक राजु लामालाई बधाई दिन पार्टीको आयोजना गरेका थिए।

यही जेष्ठ १० गते बाट काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कपमा आफु सहभागी नहुने सन्दिपले बताईसकेका छन्। लगातार क्रिकेट लिग तथा राष्ट्रिय टिमको लागि समेत खेलीरहेका सन्दिपले लामो समय पछि फुर्सद पाएको र आफ्नो ढाँडमा पनि थोरै समस्या रहेकोले आराम लिन चाहेको उनले बताएका छन्।

तेश्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा पहिलो पटक पारस खड्का प्रदेश-३ बाट खेल्दैछन्। एपीएफ छोडेका पारससंगै ज्ञानेन्द्र मल्ल पनि प्रदेश-३ बाट खेल्नेछन्।

सन्दिपले इन्डियन प्रिमियर लिग खेल्नु अघि पाकिस्तान सुपर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलेका थिए भने सोची बीचमा नेपाली राष्ट्रिय टिमको लागि युएईसंग टि-२० र एकदिवसीय सिरिज खेलेका थिए।

२०७६ जेष्ठ ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment