एजेन्सी । आर्सनलका मिडफिल्डर हेनरिच मिखिटारयन आउँदो बुधबार चेल्सीविरुद्ध हुने युरोपा लिगको फाइनल खेलका नखेल्ने भएका छन् ।
अजरबैजानस्थित बाकुमा हुने फाइनल खेलमा मिखिटारयन टोलीबाहिर रहने भएका हुन् । अजरबैजान र आर्मेनियाबीचको राजनीतिक द्वन्द्वका कारण टिममा उनलाई नराखिएको आर्सनलले जनाएको छ । मिखिटारयनलाई मैदान उतार्दा मैदानमा हुन सक्ने आपराधिक कार्य रोक्न आर्सनलले उनलाई टिममा नराखेको जनाएको छ ।
‘मिखिटारयन टिममा नभएको घोषणा गर्दा हामीलाई दुख लागेको छ । हामीले अहिलेको अवस्थाको बारेमा युइएफएलाई पत्राचार गरिसकेका छौं,’ आर्सनलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘वर्तमान अवस्थालाई नियाल्दै हामीले कठिन निर्णय लिन बाध्य भएका छौं । म टोलीसँगै फाइनल खेलका भ्रमणमा निस्कने छैन,’ मिखिटारयनले भने, ‘चेल्सीजस्तै टोलीसँग फाइनल खेल्नु मेरा लागि निकै ठूलो मौका हो । उनीहरूविरुद्ध खेल्न नपाउँदा म निकै दुखी छु ।’
यसअघि पनि मिखिटारयनले अजरबैजान र आर्मेनियाबीचको राजनीतिक द्वन्द्वका कारण आर्सनल क्लबको खेल गुमाउन पुगेका थिए ।
उता युइएफएले पनि मिखिटारयनले मुख्य प्रतियोगिताको फाइनलमा खेल्न नपाउनु दुखद भएको प्रतिक्रिया दियो ।
‘यस्तो घटना फुटबल खेलाडीको करियरमा कहिलेकाहीं आउने गर्छ,’ युइएफए विज्ञप्तिमा भनिएको छ ।
सम्पन्न प्रिमियर लिगमा पाँचौं हुँदै लिगको अन्त्य गरेको आर्सनल चेल्सीलाई हराएको खण्डमा आउँदो सिजनको च्याम्पियन्स लिगमा छनोट हुनेछ । चेल्सीलाई जित्दै उपाधि उचाल्न सफल भएको खण्डमा आर्सनलले १९९४ पछि युरोपियन ट्रफी उचाल्नेछ ।
आर्मेनियाका कप्तानसमेत रहेका मिखिटारयन देशका लागि ८२ खेल खेल्दा २७ गोल गरेका छन् जुन उनको नाममा कीर्तिमान रहेको छ ।
