सावित्राको दुई गोलको मद्दतमा सेथु एफसीले जित्यो हिरो वुमन्सको उपाधि

एजेन्सी । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएकी नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलको मद्दतमा बुधबार सेथु एफसीले भारतमा सम्पन्न तेस्रो संस्करणको हिरो वुमन्स लिगको उपाधि उचाल्न सफल भएको छ ।

पञ्जावको लुधियानास्थित गुरु नानक स्टेडियममा बुधवार भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोट्र्स क्लबलाई ३–१ ले पराजित गर्दा सावित्राले दुई गोल गर्न सफल भएकी थिइन् । पहिलो हाफमा पछि परेको अवस्थामा सावित्राको टोली सेथुले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्न सफल भएको हो ।

दोस्रो हाफमा दुई गोल गरेकी सावित्राले फाइनल सम्मको यात्रामा कुल १५ गोल गर्न सफल भइन् । सवित्राले समूह चरणमा ह्याट्रिक गर्दा सेथुले मणिपुर पुलिसलाई ६–४ ले पराजित गरेको थियो।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा राधारानी देवीले गोल गर्दै मणिपुर पुलिसलाई सुरुआती अग्रता दिलाउन सफल भएकी थिइन् । तर दोस्रो हाफमा अग्रतालाई कायम राख्न नसक्दा मणिपुर उपविजेतामा खुम्चिनु परेको हो । पहिलो हाफमा दबाबमा राख्दै प्रतिस्पर्धात्मक खेल खेले पनि सेथुले गोल गर्न सकेको थिएन् ।
दोस्रो हाफमा फरक र आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सेथुका लागि ५६औं मिनेटमा मणिपुरकी उमापति देवीले आत्मघाती गोल गरेपछि सेथु खेलमा फर्किने अवसर पाएको थियो । ६१औँ मिनेटमा सावित्राले गोल गरेपछि सेथुले २–१ को अग्रता बनाउन सफल भएको थियो । ७०औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथुले ३–१ को अग्रता बनायो । बाँकी समयमा मणिपुर खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र उपविजेतामा सिमित बन्यो ।

सावित्रासँगै सेथुबाट अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि खेलेकी थिइन । दुई खेल मात्र खेलेकी अनिताले यस अघि भएका खेलमा गोल गर्न सफल भएकी थिइन् । सेथुले सम्पन्न प्रतियोगिताका सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि कब्जा गर्न सफल भएको हो ।

२०७६ जेष्ठ ८, बुधबार मा प्रकाशित