पीएमकप क्रिकेटः एपिएफको विजयी सुरुआत, ज्ञानेन्द्रको सतक वेर्थ

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमा एपिएफले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली प्रदेश ३ लाई ४१ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले दिएको २ सय ८९ रनको लक्ष्य भेटाउने क्रममा प्रदेश ३ ले निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर मात्र २ सय ४७ रन जोड्न सक्यो । खेलमा प्रदेश ३ का ज्ञानेन्द्र मल्लले सतकीय इनिङ खेल पनि जितका लागि पर्याप्त भएन । १ सय ११ बलको सामना गरेका ज्ञानेन्द्रले ८ चौका र ५ छक्कको मद्दतमा १ सय १७ रनको स्कोर गरेका थिए । यस्तै कप्तान अर्धसतक प्रहार गर्न ४ रनमा चुक्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न सकेनन् ।

प्रदेश ३ लाई सस्तैमा समेट्न एपिएफका लागि कमल सिंह ऐरी ले सर्वाधिक ३ विकेट हात पार्दा अभिनास बोहोराले २ विकेट लिए । यस्तै पृथु बास्कोटा र भुवन कार्कीले समान १÷१ विकेट लिए ।

यस अघि पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ८८ रन जोड्न सफल भएको थियो । एपिएफका लागि सुमित महर्जनले सर्वाधिक ९४ रनको पारी खेल्दा कप्तान पृथु बास्कोटले ५९ तथा प्रदिप सिंह ऐरीले ४० रनको योगदान गरे ।

बलिङ तर्फ नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले समान सर्वाधिक ३÷३ विकेट लिँदा पारस खड्का र सुर्य तामाङले एक÷एक विकेट लिए ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मुलपानीमा हुने पहिलो खेलमा कर्णालीले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दा कीर्तिपुरमा हुने अर्को खेलमा प्रदेश १ ले त्रिभुवन आर्मीको सामना गर्नेछन् ।

२०७६ जेष्ठ ११, शनिबार मा प्रकाशित