म्याटमा प्रधानमन्त्री कप : पारसको प्रश्न – जिम्मेवारी कसले लिने ?

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा प्रदेश-३ टिमको कप्तानी गरिरहेका पारस खड्काले प्रतियोगिताको खेल म्याट बिछ्याएर खेलाइएको बारे बोलेका छन्।

सोमबार पारस कप्तानीको टिम प्रदेश-३ ले मुलपानी मैदानमा प्रदेश-५ बिरुद्ध खेल्ने क्रममा ६ विकेटको जित निकाल्यो। खेलपछि पारसले पत्रकारहरुसंग कुराकानी गर्दै म्याटमा खेल हुने अवस्था आइन्दा दोहोरिनु नहुने बताएका हुन-

“मुलपानी मैदान तयार गर्न धेरै अघि देखि काम हुँदै आएको हो। अपेक्षा गरे अनुरुप पिच तयार हुन सकेन त्यसैले म्याटमा खेलीरहेका छौँ”

“हरेक पटक आरोप लगाए जस्तो मात्रै हुन्छ, यसमा जिम्मेवार व्यक्ति को हो त ?”

“आगामी दिनमा यस्तो नहोस् किनकि एउटा खेल म्याटमा र एउटा खेल पिचमा भइरहेको छ”

पारसले एउटा खेल पिच र अर्को खेल म्याटमा हुनाले खेलाडीहरुको प्रदर्शनमा प्रत्यक्ष असर गर्ने समेत बताए-

“एउटा प्रतियोगिता पिच र एउटा म्याटमा भइरहेको छ त्यसले पनि धेरै फरक पर्छ। हाम्रो टिमको २ वटा खेल मुलपानी र एउटा किर्तिपुरमा हुँदैछ।”

“यो सरफेसमा ( म्याटमा ) ब्याटिंग गर्न सजिलो छदै छैन , बलमा समान उछाल छैन र आउट फिल्ड पनि फास्ट छैन”

“अन्तर्रराष्ट्रिय स्तरको हेर्ने हो भने मैदान तयार भएको छैन र यसलाई व्यवस्थित गर्ने समय भइसकेको छ”

पारसले यो घटनाको जिम्मेवारी कसैले लिनु पर्नेमा समेत जोड दिए-

“जिम्मेवार व्यक्ति को हो त, क्युरेटरले जवाफ दिनु पर्ने हो कि , आयोजकले जवाफ दिनु पर्ने हो कि ? परिषदले जवाफ दिनु पर्ने हो कि ? प्रश्न- उत्तरहरु धेरै छ”

“विवादनै सिर्जना गर्नको लागि एकदम सजिलो छ हाम्रो लागि यो भएन त्यो भएन भन्न। मेरो विचारमा चै अर्को पटक यो गल्ति नदोहोरियोस्। एक पटकलाई हामि मान्न सक्छौ”

खड्काले मुलपानीमा मैदान र पिच भन्दा प्याराफिट तयार भएकोमा समेत आश्चर्य प्रकट गरे-

“मैदान र पिच पहिले तयार हुनु पर्थ्यो त्यसपछि स्ट्याण्ड देखि अन्य कुरा बनाउनु पर्ने थियो”

नेपालमा हुने गतिबिधिको खबर विदेशमा समेत जाने हुँदा संवेदनशील हुनु पर्नेमा समेत जोड दिए-

“नेपालमा कुनै पनि प्रतियोगिता हुन्छ त्यसको समाचार बाहिर जाने भइसक्यो त्यसैले आगामी दिनमा यो मैदानको स्तर बढोस भन्ने चाहना हो”

प्रधानमन्त्री कप अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बीचको खेल म्याटमा खेलाइएको थियो जसपछि आयोजक राष्ट्रिय खेलकुद परिषद र व्यवस्थापनको जिम्मा पाएको नेपालय इन्टरनेसनल आलोचित बन्न पुगेको थियो। बर्सेनि आयोजना हुने प्रतीयोगीता तथा पर्याप्त समय भएता पनि म्याटमा यति ठुलो प्रतियोगिता खेलाइनु लापरबाहीपूर्ण भएको भन्दै सामाजिक संजालमा आयोजकको चर्को आलोचना भइरहेको छ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा करिब २ करोड बजेटमा आयोजना गरिएको प्रतियोगिताको खेलहरु जेठ १० गते बाट मुलपानी मैदानमा खेल हुने घोषणा गरिएको थियो। १० गतेसम्म मैदान तयार नभएपछि मुलपानीमा २ दिन पछि खेल गर्ने निर्णय रातारात गरिएको थियो।

यस अघि जेठ १ गतेबाट हुने घोषणा गरिएको प्रतियोगिता जेठ ७ गते हुँदै १० गते सारिएको थियो। यस अघि टियु मैदानमा मात्रै हुने बताईएता पनि पछि टियु र मुलपानी मैदानमा आयोजना गर्ने घोषणा भयो।

मुलपानीमा पहिलो पटक प्रतियोगिता गर्ने निर्णय त भयो तर मैदान यति ठुलो प्रतियोगिताको लागि तयार नै थिएन। न त पिच राम्रोसंग तयार भएको थियो नत आउटफिल्डनै राम्रो थियो। अझ बाउन्ड्री लाइन भित्र घर पर्दा मात्र ५५ यार्डको बाउन्ड्री बनाएर खेल आयोजना हुनु अन्तर्राष्ट्रिय मापदण्ड बिपरित थियो। आईसीसीले ६५ यार्ड भन्दा कम बाउन्ड्रीलाई मान्यता दिने गर्दैन।

शनिवारनै मुलपानी मैदानमा खेल नहुने अवस्था थाहा भएपछि आयोजकले सहभागी कप्तानहरुलाई म्याटमा खेल खेलाउन सहमति मागेको थियो। सबै कप्तानहरुको सहमति पछि प्रतियोगिताको मुलपानी मैदानमा हुने खेलहरु म्याटमै खेलाइनेछ।

२०७६ जेष्ठ १३, सोमबार मा प्रकाशित