महिला डबल लिग आगामी भदौमा, १० टोली समावेश हुने

काठमाडौं । हप्ता दिन सम्म मात्र सञ्चालन गर्दै आएको महिला लिगलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले लम्बाएको छ ।

उपराष्ट्रपति कप महिला लिग नाम दिएको प्रतियोगिता आगामी भदौमा हुने एन्फाले जनाएको छ । एन्फाले यस अघि हप्ता दिन सञ्चालन गर्दै आएको लिगलाई परिमार्जन गरी उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता गर्ने भएको हो । परिमार्जन गरी आयोजना गर्न लागिको लिग ६ महिनासम्म सञ्चालन गर्ने जानकारी दिएको छ ।

भदौ २० गतेबाट सुरू हुने लिग माघ अन्तिममा सकिने छ । ७ प्रदेश र तीन विभागीय टोली गरी लिगमा १० टोली सहभागी हुने लिग पहिलो पटक नेपालमा हुन लागेको हो । लिग डबल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघमा निर्वाचित भएपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुरुषको जस्तै महिला लिगलाई पनि लम्बाउने बताउँदै आएका थिए ।

२०७६ जेष्ठ १४, मंगलवार मा प्रकाशित