प्रधानमन्त्री कप : प्रदेश-३ र आर्मीको जित

काठमाडौं । प्रदेश ३ र विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार जित निकालेका छन् ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेट र मूलापानीमा भएको अर्को खेलमा आर्मीले कर्णाली प्रदेशमाथि १ सय १७ रनको जित निकालेको हो । योसँगै प्रदेश ३ ले सम्पन्न ३ खेलबाट दुई जित निकालेको छ भने आर्मीले अपराजित यात्रालाई मंगलबार पनि निरन्तरता दिएको हो ।

गण्डकी प्रदेशले दिएको १ सय ९ रनको लक्ष्य प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेट गुमाएर भेटाउन सफल भएको हो । प्रदेश ३ को जितमा आदिल खान र इसान पाण्डेले क्रमश नट आउट ३८ र २६ रनको इनिङ खेले । ओपनर रित गौतमले २० रनको योगदान गर्दा रोबिन जोशीले ११ तथा अभिषेक बस्नेत ५ रन जोडे । बलिङ तर्फ गण्डकीका किशोर महतोले २ र विपिन खत्रीले १ विकेट लिए ।

यस अघि टस जितर पहिला ब्याटिङ गरेको गण्डकीले ३०.१ ओभर सम्म ब्याटिङ गर्न सक्यो । १ सय ८ रनको योगफलमा समेटिएको गण्डकीका सुमन घिमिरे सर्वाधिक ३४ रनको इनिङ खेले । ३२ बलको सामना गरेका घिमिरेले १ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै आकाश थापाले २८ रन तथा राहुल शर्माले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्नका लागि कप्तान पारस खड्का र सुर्य तामाङले समान ४/४ विकेट हात पार्दा नन्दा यादवले २ विकेट हात पारे । पराजित गण्डकी पहिलो खेलमा नै स्तब्ध भएको छ । प्रदेश ३ पहिलो खेलमा आर्मीसँग ४१ रनले पराजित भएको थियो दोस्रो खेलमा प्रदेश ५ लाई ६ विकेटले हराएको थियो ।

विजयी प्रदेश ३ ले आउँदो सोमबार सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने गण्डकीले शुक्रबार साविकको विजेता एपिएफसँग खेल्नेछ ।

यस्तै प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा आर्मी निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले ३५.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो ।

आर्मीको जितका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय इनिङ खेले भने सुसान भारीले सर्वाधिक ४ विकेट लिए । यो सँगै सुशानले जारी प्रतियोगितामा १० विकेट लिएका छन् । भारी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि हुन् । भारीले प्रदेश १ विरुद्ध ह्याट्रिक गरेका थिए ।

अर्धसतकीय इनिङ खेलका राजु रिजालले सर्वाधिक ६६ रन जोड्दा रोहित कुमार पौडेलले ५६ तथा हरिकृष्ण शाहले ५२ रनको योगदान गर्दै आर्मीको इनिङ्सलाई उकासेका थिए ।

बलिङ तर्फ कर्णाली प्रदेशका ललित प्याकुरेलले सर्वाधिक ५ विकेट हात पार्दा रविन्द्र शाहीले २ तथा प्रकाश जैशीले १ विकेट लिए ।
१ सय ७३ रनमा समेटिएको कर्णालीका लागि ओपनर शुसान्त थापाले सर्वाधिक ३१ रन, ललित प्याकुरेलले २८, दिवान पुनले २६, कप्तान रविन्द्र शाहीले १३ तथा दिनेश अधिकारीले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले सम्झन लायक ब्याटिङ गर्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्नका लागि सुशान भारीले ४ तथा करण केसी र शहब अलमले समान २/२ विकेट लिए । विजयी आर्मीले जेठ २३ गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित कर्णालीले बुधबार प्रदेश २ सँग कीर्तिपुर मैदानमा खेल्नेछ । बुधबारै हुने अर्को खेलमा पुलिस र प्रदेश १ बीच मूलपानी क्रिकेट मैदानमा खेल हुनेछ ।

२०७६ जेष्ठ १४, मंगलवार मा प्रकाशित