सुमन कुलुंग र सुनमाया बुढालाइ एभरेष्ट म्याराथनको  उपाधि

काठमाडाैं । गत सालका उपबिजेता सुमन कुलुंगले यस वर्षको तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको खुल्लातर्फको उपाधि जितेकाछन् | सगरमाथा प्रथम आरोहणको बार्षिकोत्सव, मे २९, मा सगरमाथा क्षेत्रमा सम्पन्न भएको म्याराथन सुमनले ३ घन्टा ४७ मिनेट १६ सेकेन्डमा पुरा गरे | सुमन एभरेष्ट म्याराथनको २०१७ संस्करणका बिजेता हुन् |

त्यसैगरि कपिलदेव बुढा र रामकुमार राजभण्डारीले दोस्रो र तेस्रो स्थान हासिल गरे | कपिलदेवले ४२.१९५ किलोमिटरको म्याराथन ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पुरा गरे भने, रामकुमारलाइ फिनिसिंग लाइन आइपुग्न ३ घण्टा ५८ मिनेट लाग्यो | म्याराथन सगरमाथा आधार शिबिर (५३१६ मि) मा शुरु भइ नाम्चेबजारमा सम्पन्न भएकोथियो | उपाधिसंगै सुमन ले रु २००,००० नगद, मेडल तथा प्रमाणपत्र हात पारे भने कपिलदेव र रामकुमारले क्रमश नगद रु १००,००० र रु ७५,००० र मेडल तथा प्रमाणपत्र प्राप्त गरे |

बिजेताहरुलाई नेपालका लागि भारतीय राजदुत मंजिबसिंह पुरीले पुरस्कार हस्तान्तरण गरे | पुरस्कार बितरणमा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष ताशी जांग्बु शेर्पा लगायतको उपस्थिति थियो |त्यस्तै महिलातर्फको  उपाधि सुनमाया बुढाले जितिन् | सानुमायाले ५ घन्टा ५ मिनेट ०४ सेकेन्डमा दौड पुरा गरि रोजिना भण्डारी (५:२४:१२) र हुमि बुढा मगर (५:२९:१५) लाइ पछी पारिन् | बिजेता सुनमायाले नगद रु १००,००० र मेडल तथा प्रामाणपत्र हात पारिन् भने रोजिना र हुमिले क्रमश रु ७५,००० र रु ५०,००० प्राप्त गरे |

प्रतियोगिताकै कठिन स्पर्धा मानिएको एभरेष्ट एक्स्ट्रिम अल्ट्रा (६० किलोमिटर) को उपाधि किरण कुलुंगले हात पारे भने अर्जुन कुलुंग राइ र पूर्ण तामांगले दोस्रो तथा तेस्रो स्थानमा दौड पुरा गरे | सन् २०१८ को एभरेष्ट एक्स्ट्रिम अल्ट्रामा दोस्रो स्थानमा चित्त बुझाएका किरणले ७ घन्टा १४ मिनेट १० सेकेन्डमा दौड पुरा गरि नगद रु १००,०००, मेडल तथा प्रमाणपत्र प्राप्त गरे | किरण भन्दा ५ सेकेन्ड मात्रै पछी रहेका अर्जुनले रु ७५,००० प्राप्त गरे भने ७ घन्टा २७ मिनेट ४६ सेकेन्डमा दौड पुरा गरेका पूर्णले नगद रु ५०,००० प्राप्त गरे |

विदेशी धावकहरु मात्रै सहभागी हुने हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि बेलायतका अलेक्जेन्डर विलियम जालाण्डले जिते | ३ घण्टा ८ मिनेट मा दौड पुरा गरेका अलेक्जेन्डरले ब्राजिलका कार्लोस रोचा (३:३०:५५) र भारतका जेरोम लोयड (३:४२:५०) लाइ पछी पारे | यस स्पर्धाका बिजेताले नगद रु ५०,००० र मेडल तथा प्रमाणपत्र तथा दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमश नगद रु ३५,००० रु २५,००० प्राप्त गरे |

त्यसैगरि बिदेशी खुल्ला स्पर्धामा भारतका सोनाम फुन्त्सुक प्रथम हुँदा लिथुआनियाका रिमस जाभिसस दोस्रो तथा भारतकै अशोक मेहता तेस्रा भए |सोनामले ५ घण्टा ४८ मिनेटमा दौड पुरा गरि नगद रु ५०,००० प्राप्त गरे भने रिमास (५:४८:०५) र अशोक (६:२२:३९) ले क्रमश रु ३५,००० र रु २५,००० हात पारे |

म्याराथन सगरमाथा आधार शिबिरबाट बिहान ७ बजे शुरु भएको थियो | धावकहरु गोरक्षेप, लोबुचे, दोगला, दिन्गबोचे र तेंग्बोचे हुँदै समापनस्थल नाम्चेबजार पुगेकाथिए |

तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको २०१९ संस्करणमा ३० देशका १६० गरि जम्मा २२४ धावकहरुको सहभागिता रहेकोथियो |

दौडपछी प्रतिक्रिया दिंदै रेस डाइरेक्टर शिखर पाँडेले म्याराथनप्रति विश्वभरबाट पाएको प्रतिक्रियाबाट आफु हर्षित भएको बताए | “बिगत १६ बर्षमा यो म्याराथनको विकासक्रमले हामीलाई थप हौसला दिएकोछ,” उनले बताए |

सन् १९५३ मे २९ मा तेन्जिंग नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले गरेको प्रथम सगरमाथा आरोहणको सम्झनामा हिमालय एक्सपीडीसन्सले विगत सोह्र बर्षदेखि यो म्याराथनको आयोजना गर्दैआइरहेकोछ |

२०७६ जेष्ठ १५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment