एकदिवसीय विश्वकप क्रिकेटः आयोजकको सुखद सुरुआत, दक्षिण अफ्रिका १ सय ४ रनले पराजित

एजेन्सी । आयोजक इङ्ल्यान्डले १२ औं संस्करणको एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

लन्डन स्थित ओभल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा पाहुना टोली दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

निर्धातिर ५० ओभरको समाप्तिमा ८ विकेट गुमाएर प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५ ओभरमा २ सय ७ रनमा समेटिएको थियो । खेलमा दक्षिण अफ्रिकाका लागि क्विनटन डी ककले र भान डेर डुसनले अर्धसतकीय इनिङ खेले पनि टोलीलाई सुखद सुरुआत दिलाउन सकेनन् । ७४ बलको सामना गरेका डी ककले ६ चौका र २ छक्काको मद्दतमा ६८ रनको पारी खेल्दा अर्को अर्धसतकीय इनिङ खेलेका डुसनले ६१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका थिए । यस्तै फेहुल्कावायोले २४ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट हात पार्दा बेन स्टोक्स र लियाम प्लुङकेटले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले । मध्यक्रमका ब्याट्सम्यान वेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान गरे । ७९ बलको सामना गरेका स्टोक्सले ९ चौका प्रहार गरेका थिए । यस्तै ओपनर जासन रोएले ५४ रनको पारी खेल्दा ओपनर जोन बिस्ट्रो भने शून्यमा आउट भए । जोए रुटले ५९ बलमा ५१ रन र कप्तान इयान मोर्गानले ५७ रन जोड्दा अन्य ब्याट्स म्यानले सम्झनलायक स्कोर गरेनन् ।

बलिङमा दक्षिण अफ्रिका लुङ्गी निग्धीले ३ विकेट लिए । इमरान ताहिर र कागिसो राबाडाले २–२ विकेट हात पारे । इङ्ल्यान्डका बिस्ट्रलाई शून्यमा पवेलियन फर्काउन सफल इमारान ताहिर बिहीबारबाट सुरु भएको विश्वकपमा पहिलो विकेट लिने खेलाडी बनेका छन् ।

प्रतियोगितामा दोस्रो खेल पूर्वविजेताद्वय पाकिस्तान र वेस्ट इन्डिजबीच हुनेछ ।

२०७६ जेष्ठ १७, शुक्रबार मा प्रकाशित