मलेसियासँगको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

मैत्रिपूर्ण खेलका लागि मलेसिया भ्रमणमा निश्किएको नेपाल आइतबार घरेलु टोलीसँग २–० ले पराजित भएको छ ।

बुकिट जालिल राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका प्रशिक्षक योहान कालिनले मिडफिल्डर सुनिल बल र स्ट्राइकर बेन्चमा राख्दै विमल राना र रवि पासवानलाई स्थान दिएका थिए । तर दुबै खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले ५० औं मिनेटमा घरेलु टोली मलेसियाले पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । नेपालका रक्षक अनन्त तामाङले मलेसियाली खेलाडीलाई पेनाल्टी बक्स भित्र खराब फाउल गर्दा मलेसियाले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई वैकल्पिक खेलाडीको रुपमा मेदान प्रवेश गरेका मोहम्मद रासिदले सहजै जाली चुमाएका थिए ।

१ गोलले पछि परेको अवस्थामा खेलमा फर्किन संघषरत नेपालले खेल सकिन ९ मिनेट बाँकी छँदा अर्को गोल खान पुग्यो । मलेसियाका लागि सरउल मोद साडले गोल गर्दै मलेसियाको जित सुनिश्चत गरेका थिए ।

खेलमा मलेसियाले सुरुआतबाट नै नेपाललाई दबाबमा राखेको थियो । यद्यपि २९ औं मिनेटमा बिक्रम लामाको प्रहार गोलपोस्टको साइडबारमा लागेर फर्किदा नेपालले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो ।

खेलको पाँचौ मिनेटमा मलेसियाले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । खेलको सुरुवातबाटै दबाब बनाएको मलेसियाले नेपालविरुद्व एकपछि आक्रमण बुनेपनि नेपालको रक्षा पंक्तिले जोगाउन सफल भएको थियो ।

दोस्रो हाफमा अनुभवि खेलाडी अञ्जन विष्ट, सुनिल बल सँगै अभिशेक रिजाललाई मुख्य प्रशिक्षक योहान कालिनले मैदान प्रवेश गराए पनि त्यो नेपाललाई खेलमा फर्काउन पर्याप्त भएन ।

नेपालले मलेसियाविरुद्ध बेहोरेको यो सातौं हार हो । यस अघि नेपालले १९८३ सेप्टेम्बर यता मलेसियाविरुद्ध ६ खेल खेलेकोमा कुनै पनि खेलमा सुखद नतिजा ल्याउन सकेको छैन । यस क्रममा टोलीले मलेसियासँग २३ गोल खाएको छ भने गोल खाता खोल्न सकेको छैन ।

नेपाली टोलीले सेप्टेम्बरमा विश्वकपको छनोट खेल खेल्दै छ । एसियाली राष्ट्रहरूमध्ये विश्व वरीयतामा ३४औं स्थानमा रहेपछि नेपालले पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्ने अवसर पाएको हो ।

फिफा वरीयतामा नेपाल १ सय ६१औं स्थानमा छ भने मलेसिया १ सय ६८औं स्थानमा ।

कालिनको प्रशिक्षणमा नेपालले यसअघि २ मैत्रीपूर्ण खेल खेले पनि जितको खाता भने खोल्न सकेको थिएन् । नेपालले कतारविरुद्ध नतिजा सुम्पिएको थियो भने कुवेतसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले जुन ६ मा हुने दोस्रो मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ ।

 

२०७६ जेष्ठ १९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment