युईएफए नेसन्स कपको उपाधि पोर्चुगललाई

एजेन्सी । नेदरल्यान्ड्सलाई स्तब्ध बनाउँदै पोर्चगलले युईएफए नेसन्स कपको उपाधि जितेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

यो सँगै आफ्नो कप्तानीमा रोनाल्डोले पोर्चुगललाई दोस्रो उपाधि दिलाउन सफल भएका छन् । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकपको उपाधि जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगललाई जित दिलाउन गोन्कालो गुएडेसले ६० औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पोर्तोमा भएको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए ।

दोस्रो हाफमा आक्रामक देखिएको पोर्चुगलले अवसर पाएको थियो । निर्णायक गोल गरेका गोन्कालोले बर्नार्डो सिल्भाको पासमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाउन सफल भएका हुन् ।

२०७६ जेष्ठ २७, सोमबार मा प्रकाशित