आयोजक आर्मीलाई प्रधान सेनापति चौथो राष्ट्रिय भलिबलको उपाधि

काठमाडौं । गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै आयोजक त्रिभुवन आर्मी क्लबले प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबलको उपाधि जितेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट गुमाएपनि बाँकी तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधि आफ्नो बनाउन सफल भएको हो । पहिलो सेटमा २५–१६ ले आफ्नो बनाएको गण्डकी बाँकी सेटमा राम्रो खेल्न नसक्दा उपविजेता बनेको हो । अघिल्लो संस्करणमा पनि पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेको गण्डकी फाइनलमा नै पराजित भएको थियो ।

पहिलो सेट गुमाए पछि बाँकी सेटमा खेलमा फर्किएको आर्मीले दोस्रो सेट २५–८, तेस्रो सेट २५–१० र चौंथो सेट २५–१६ ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो । योसंगै आर्मीले लगातार चौंथो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । उपाधि आँगनैमा राखेको आर्मीले विजयी ट्रफी सहित नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ उपविजेतामा खुम्चिएको गण्डकीले १ लाख ५० हजार रुपैयाँमा चिक्त बुझायो । यस्तै शनिबार भएको भिड्न्तमा नेपाल पुलिसले अर्को विभागीय टोली एपिएफलाई हराउँदै तेस्रो बनेको थियो । तेस्रो भएको पुलिस नगद ७५ हजार रुपैयाँ हात पा¥यो । प्रतियोगितामा तीन विभागीय टोली सहित सात प्रदेशका टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका भैरव बम सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । लगातार चौथो पटका उपाधि उचाल्नका लाग महत्वपूर्ण भूमिका खेलेका भैरवले उत्कृष्ट भएबापत मोटरसाइकल प्राप्त गरे । यस्तै प्रतियोगिताको व्यक्तिगत विधामा पनि आर्मीका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट सर्भर पुलिसका कुल बहादुर थापा, लिफ्टर आर्मीका दुर्गा प्रसाद महतो र डिफेन्डरमा आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकरमा आर्मीका हरि अधिकारी, स्पाइकरमा आर्मीकै यम क्षत्री र उत्कृष्ट प्रशिक्षक आर्मी कै कपिल किशोर श्रेष्ठ चुनिए । उत्कृष्ट सबैले जनही १०/१० हजार प्राप्त गरे ।

२०७६ जेष्ठ २७, सोमबार मा प्रकाशित