कोपा अमेरिकाः लियोनल मेसीको अर्जेन्टिना कोलम्बियासँग पराजित

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पहिलो खेलमा पराजित भएको छ ।

आइतबार बिहान भएको खेलमा उपाधि दाबेदारको रुपमा आंकलन गरिएको अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलको कोलम्बियाले दोस्रो हाफमा गोल गर्दै सुखद सुरुआत गरेको हो । कोलम्बियाका लािग रोजर मार्टिनेज र डुजापटाले एक/एक गोल गर्दै जित दिलाएका हुन् ।

 

खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेल सकिन ४ मिनेट बाँकी रहँदा जापटाले गोल गर्दै कोलम्बियालाई २–० को जित दिलाए । पराजित लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले केही राम्रा अवसर सिर्जन गरे पनि सदुपयोग गर्न सकेन ।

सुखद सुरुआत गरेको समूह ‘बी’ मा रहेको कोलम्बियाले अंक तालिकामा ३ अंक जोडेको छ । पराजित अर्जेन्टिनाले भने हारबाट प्रतियोगिताको सुरुवाती गरेको छ । यो हारसंगै अर्जेन्टिनाको उपाधि यात्रामा धक्का लागेको छ । अब अर्जेन्टिनाले दोस्रो खेलमा पराग्वेसंग खेल्नेछ । कोलम्बियाले आमन्त्रित टिम कतारको सामना गर्नेछ ।

यस्तै प्रतियोगिता अन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा भेनेजुएला र पेरुले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

२०७६ असार १, आईतवार मा प्रकाशित