नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसँग होटल क्राउन प्लाजा सहप्रयोजकका रूपमा जोडिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च र होटल क्राउन प्लाजबीच एक वर्षका लागि सहप्रायोजनको सम्झौता भएको हो। बिहीबार मञ्चका तर्फबाट अध्यक्ष देवेन्द्र सुवेदी तथा होटल क्राउन प्लाजाका तर्फबाट प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर।
क्राउन प्लाजाका प्रबन्ध निर्देशक श्रेष्ठले यसअघि पनि अनौपचारिक रूपमा मञ्च र अवार्डसँग काम गर्दै आए पनि यो वर्षबाट औपचारिक रूपमा जोडिन पाउँदा खुसी लागेको बताए। मञ्चका अध्यक्ष सुवेदीले खेलकुद क्षेत्रसँग जोडिँदै आएको क्राउन प्लाजा अवार्डसँग औपचारिक रूपमा जोडिनु सुखद पक्ष रहेको उल्लेख गरे।
१६औं संस्करणको अवार्ड कार्यक्रम असार १७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अवार्डका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक तथा पिपल्स च्वाइस गरी ५ विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पाँच विधाका विजेताले बजाजको पल्सर मोटरबाइक जित्नेछन्।
अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट महिला र पुरुष विधाका विजेताले टर्किस एयरलायन्सको सेवा भएको कुनै पनि गन्तव्यमा ५ लाख बराबरको दुईतर्फी हवाई टिकट जित्नेछन्।
