पदक विजेता सम्मानित

नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले चेक रिपब्लिकमा भएको सातौं लायन्स कप अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता खेलाडीलाई शनिबार सम्मान गरेको छ ।

बाल मन्दिर शाखा डोजोका अनाथ बालवालिका खेलाडीको ग्रेडिङ कार्यक्रममा स्वर्ण विजेता पर्शुराम बाँस्तोला तथा रजतधारीत्रय सुशील पौडेल, फिन्चोक दोर्जे लामा र रोहित बुढाथोकीलाई सम्मान गरिएको हो। खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा सदस्य–सचिव सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि बधाइ दिदै मायाको चिनो प्रदान गरिएको थियो । करातेका नवनियुक्त प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई पनि सम्मानित भए । ग्रेडिङमा १५ अनाथ बालवालिका सहभागी थिए । बाल मन्दिर र शंखपार्क डोजोका प्रमुख प्रशिक्षक सानुबाबु तामाङले ग्रेडिङ सञ्चालन गरेका थिए । बाल मन्दिरमा निशुल्क प्रशिक्षण दिइ रहेका तामाङले खेलाडीलाई व्यक्तिगततर्फबाट कराते गि र खेल सामाग्री समेत प्रदान गरेका थिए ।

२०७६ श्रावण ११, शनिबार मा प्रकाशित