चीन र भारतका खेलाडीलाई पछि पार्दै नेपाली धावक निमेषले जिते अर्को स्वर्ण

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन्।

सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा स्वर्ण जितेका हुन्। उनले भारत र चीनका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन्। भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात पारे।

यसअघि निमेषले निमेषले शुक्रबार हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।
अब उनले अगस्ट १८ मा ट्र्याक एन्ड फिल्ड अन्तर्गत १० हजार मिटर दौडनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो। प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा हुन्छ।

एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

संखुवासभामा जन्मिएका निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।

सिंगापुमार हुने स्थानिय प्रतियोगितमा प्रत्येक साता जस्तो पुरस्कार जित्ने निमेषले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।

२०७६ श्रावण २७, सोमबार मा प्रकाशित