करियरको संभवत अन्तिम वान-डेमा गेलको विस्फोटक इनिंग

भारत र वेस्टइन्डिज बीच वेस्टइन्डिजमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत तेश्रो एकदिवसीयमा संभवत क्रिस गेलले आफ्नो करियरको अन्तिम खेल खेले।

एकदिवसीय विश्वकप २०१९ पछि सन्यास लिने बताईए पनि गेलले घरेलु मैदानमा भारत बिरुद्ध सिरिज खेल्दै सन्यास लिने इच्छा व्यक्त गरेका थिए। अधिकारिक रुपमा भने उनको घोषणा बाहिर आएको छैन।

ट्रिनिडाडमा जारि तेश्रो एकदिवसीयमा गेलले मात्र ४१ बलमा ७२ रन बनाउदै शानदार तरिकाले विदा भए। यस क्रममा उनले ८ चौका र ५ छक्का प्रहार गरे। विस्फोटक ब्याटिंग गरेका गेल खलिल एहमदको बलमा बिराट कोहलीबाट क्याच आउट हुँदा ११.४ ओभरमा वेस्टइन्डिजले १२१ रन बनाईसकेको थियो। पहिलो विकेटको लागि उनले इभिन लुइस ( ४३ रन ) संग १०.५ ओभरमा ११५ रनको साझेदारी गरेका थिए।

३९ वर्षीय गेलको अन्तिम खेल भएको अनुमान भारतीय खेलाडीले गेल आउट भएपछि गरेको विदाईबाट लगाउन सकिन्थ्यो। भारतीय खेलाडीहरुले गेल आउट भएर जाँदै गर्दा उनलाई रोकेर हात मिलाएका थिए भने भारतीय कप्तान कोहलीले गेलसंग थोरै नाच पनि देखाए।

गेलले आफ्नो ब्याटको माथि हेल्मेट राखेर समर्थकहरुलाई ब्याट उठाउदै विदा लिएका थिए। खेलमा गेलले ३०१ नम्बरको जर्सी लगाएका छन् जुन उनले अहिले खेलीरहेको ३०१ औं एकदिवसीयको प्रतिक हो। यस अघि गेलले ३३३ नम्बरको जर्सी लगाउने गर्थे जुन उनले टेस्ट क्रिकेटमा बनाएको सर्वाधिक स्कोरको प्रतिक हो।

गेल गत खेलमा ३०० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए र ब्रायन लाराको रेकर्ड तोड्दै वेस्टइन्डिजको लागि सर्वाधिक एकदिवसीय खेल्ने खेलाडी बनेका थिए। उनले करियरमा १०३ टेस्ट र ५८ टि-२० अन्तर्राष्ट्रिय पनि खेले।


गेल वेस्टइन्डिजको लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ३०१ खेलमा १० हजार ४ सय ८० रन बनाएका छन्। यस क्रममा उनले २९३ इनिंगमा ब्याटिंग गर्दै ३७.७१ को औशतले २५ शतक र ५४ अर्धशतक बनाएका छन्।

टेस्ट क्रिकेटमा उनले १०३ टेस्टको १८२ इनिंगमा ब्याटिंग गर्दै ४२.१८ को औशतले ७ हजार २ सय १४ रन बनाएका छन्। टेस्टमा उनले १५ शतक र ३७ अर्धशतक बनाएका छन्। ५८ टि-२० अन्तर्रराष्ट्रियमा गेलले २ शतक र १३ अर्धशतक मदतले १ हजार ६ सय २७ रन बनाएका छन्।

सन् १९९९ मा भारत बिरुद्ध एकदिवसीयमा तथा सन् २००० मा जिम्बाबे बिरुद्ध टेस्ट क्रिकेटमा गेलले डेब्यु गरेका थिए।

२०७६ श्रावण २९, बुधबार मा प्रकाशित