आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि ओमान, पपुवा न्युगिनी र आयोजक स्कटल्याण्ड बीचको त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेलमा ओमानले लगातार दोश्रो जित हात पारेको छ।
ओमानले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा घरेलु टिम स्कटल्याण्डलाई ८ विकेटले सहजै पराजित गर्यो। त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा बुधबार ओमानले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको थियो।
२ खेलमा जित सहित ओमानको ४ अंक भएको छ भने १/१ खेल हार्दै स्कटल्याण्ड र पपुवा न्यु गिनी अंकविहिन रहेको छ। सिरिज अन्तर्गत शनिवार तेश्रो खेलमा स्कटल्याण्ड र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्नेछन्।
खेलमा पहिले ब्याटिंग गर्दै स्कटल्याण्डले दिएको १६९ रनको लक्ष्य ओमानले ४४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा ओमान ओपनर जतिन्दर सिंह १९ रन बनाएर आउट भएपछि अर्का ओपनर खवर अलि र अकिव इल्यासले दोश्रो विकेटको लागि १२३ रनको साझेदारी गर्दै जित नजिक पुर्याए। इल्यास ४४ औं ओभरमा आउट हुनु अघि ९२ बलमा ४ चौका मदतले ६१ रन बनाए।
खवर अलिले अविजित ७५ रन बनाएर टिमलाई जितसम्म पुर्याए। उनले १३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
बलिंगमा पनि अलि उत्कृस्ट
एबरडीनमा टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो।
राम्रो सुरुवात गर्ने क्रममा स्कटल्याण्ड ओपनर म्याथु क्रस र कायल कोट्जरले ७१ रनको साझेदारी गरे ,१४ औं ओभरमा क्रस ३३ रन बनाएर आउट भएपछि १५ औं ओभरमा कलम म्याकलोयड ३ रन बनाएर आउट भए।

म्याकलोयडको विकेट लिएपछि लेग स्पिनर खवर अलिले अर्धशतक बनाएका कप्तान कोट्जरलाई पनि आउट गरे। कोट्जरले ७२ बलअ ४ चौका र १ छक्का मदतले ५६ रन बनाए। त्यसपछि अलिले रिची बेरिंगटन ( ११ रन ) लाई तथा अकिल इल्यासले जर्ज मुनसे ( ६ रन ) लाई आउट गर्दा स्कटल्याण्ड ७१/१ बाट ११०/५ को अवस्थामा पुग्यो।
त्यसपछि पनि स्कटल्याण्ड सम्हालिन सकेन। क्रेग वाल्लेसले ३६ रन बनाए पनि तल्लो क्रममा अन्य ब्याट्सम्यानले खास योगदान दिन सकेनन्।
ओमान बलिंगमा खवर अलिले ४ विकेट ( ९-१-२३-४ ) , जेशान मक्सुद ( १०-१-३२-२ ) र अमिएर कालिम ( ७.४-०-३०-२ ) ले २/२ विकेट लिए।
विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुवरिमा घरेलु मैदानमा अमेरिका र ओमान बिरुद्ध खेल्ने तालिका रहेको छ।
( फोटो – आईसीसी )