एसेज : स्मिथको अर्को उत्कृस्ट इनिंग, रोचक अवस्थामा टेस्ट

इंग्ल्याण्डको लर्ड्समा जारि एसेज सिरिज अन्तर्गतको दोश्रो टेस्ट रोमान्चक मोडमा पुगेको छ। वर्षाले धेरै जसो खेल प्रभावित भएता पनि चौथो दिनको खेल सकिंदा नतिजा आउने सम्भावना बढेको हो।

पहिलो इनिंगमा इंग्ल्याण्डले २५८ रन बनाएपछि आज अस्ट्रेलियाको पहिलो इनिंग २५० रनमा समेटिन पुग्यो। इंग्ल्याण्डले ८ रनको पहिलो इनिंगको अग्रता पछि ब्याटिंग गर्दै चौथो दिनको खेल सकिंदा ९६/४ को स्थितिमा रहेको छ र १०४ रनको अग्रता हाँसिल गरेको छ।

अब भोलि बिहान इंग्ल्याण्डलाई छिट्टै अलआउट गर्दै सानो लक्ष्य पाउन सके खेलको नतिजा आउने सम्भावना प्रवल रहन्छ।

दिनको खेल सकिंदा बेन स्टोक्स १६ र जोस बटलर १० रन बनाएर ब्याटिंग गरिरहेका छन्। यस अघि ओपनर रोरी बर्न २९, जेसन रोय २, जो रुट ० तथा जोय डेनलि २६ रन बनाएर आउट भइसकेका छन्। अस्ट्रेलियाको बलिंगमा प्याट कमिन्स र पिटर सिडलले २/२ विकेट लिएका छन्।

स्मिथको उत्कृस्ट इनिंग  

सिरिजमा उत्कृस्ट लयमा रहेका स्मिथले अर्को शानदार पारि खेलेपछि अस्ट्रेलियाले मुस्किल अवस्थाबाट २५० सम्मको योगफल तयार गर्न सक्यो।

एक समय ७१ रनमा ४ विकेट गुमाईसकेको कंगारुलाई त्यसपछि स्टिभ स्मिथले सम्हालेका थिए। यस क्रममा स्मिथले कप्तान टिम पेनसंग ६० रनको साझेदारी गरे।

इनिंगको बीचमा जोफ्रा आर्चरको बाउन्सरले टाउकोमा लागे र रिटायर्ड हार्ट भएपछि पनि स्मिथ पुनः अर्को विकेट गुमेपछि ब्याटिंग गर्न आएका थिए। लगातार तेश्रो इनिंगमा शतक बनाउन ८ रनले चुकेका स्मिथले १६१ बलमा १४ चौका मदतले ९२ रन बनाए। टिम पेनले २४ तथा प्याट कमिन्सले २० रन बनाए। यस अघि उस्मान ख्वाजाले ३६ रन बनाएका थिए।

इंग्ल्याण्डको बलिंगमा स्टुवार्ट ब्रडले ४ , क्रिस वोक्सले ३ तथा जोफ्रा आर्चरले २ विकेट लिए।

पहिलो टेस्टमा अस्ट्रेलिया २५१ रनले विजयी भएको थियो।

 

२०७६ भाद्र १, आईतवार मा प्रकाशित