आज देखि एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
ललितपुर स्थित त्रिभुवन आर्मी क्लबको कभर्ड हालमा हुने प्रतियोगितामा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् । तुर्कमेनिस्तान २ पटकको विजता टिम हो।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ जुन समुहमा नेपाललगायत कीर्गिस्तान र माल्दिभ्स रहेका छन्। समूह बी मा तुर्किमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्।
प्रतियोगिताको पहिलो दिन सोमबार ३ वटा खेल हुनेछन्। पहिलो खेलमा तुर्किमेनिस्तान र अफगानिस्तान, दोस्रो खेलमा नेपालले कीर्गिस्तान तथा तेस्रो खेलमा बंगलादेश र उज्वेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। नेपाल र कीर्गिस्तानबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ। किर्गिस्तानलाई पराजित गर्न सके नेपाल सोझै सेमीफाइनल पुग्नेछ।

प्रतियोगिता अघि नेपालले क्खेलेको २ वटा मैत्रीपूर्ण अभ्यास खेलमा अफगानिस्तानलाई दुवै खेलमा पराजित गरेको थियो।
नेपाली भलिबल टिमले २०७३ मा माल्दिभ्समा सम्पन्न्न सेन्ट्रल जोन भलिबलमा कास्य पदक जितेको थियो जुन ४१ वर्ष पछि जितेको पहिलो पदक थियो।
नेपाली टिमको प्रशिक्षण हान आविंङले गरिरहेका छन् जो बिगत दुई महिना देखि टिम सम्हालीरहेका छन्।
‘नयाँ प्रशिक्षक आएपछि हामीले परम्परागत समस्याको रूपमा रहेको रिसिभ र ब्लकमा धेरै मिहिनेत गरेका थियौं,’ नेपालका कप्तान इम रानामगरले कान्तिपुरसंगको कुराकानीमा बताए, ‘अफगानिस्तानको खेलका क्रममा हामीले त्यसको परीक्षण गर्यौं । नतिजा सकारात्मक छ तर सन्तुष्ट हुने अवस्था अझै छैन । प्रतियोगिताको उपाधिसम्मको सपना देखेका हामीले आफ्ना कमजोरी अझै कम गर्न केन्द्रित हुनुपर्छ ।’
सेन्ट्रल जोन भलिबलको पहिलो र दोश्रो संस्करणमा नेपाल चौथो भएको थियो। यस्तै तेश्रो संस्करणमा नेपाल तेश्रो भएको थियो भने चौथो संस्करणमा चौथो भएको थियो। प्रतियोगिताको पहिलो र चौथो संस्करण तुर्कमेनिस्तानले जितेको थियो भने दोश्रो बंगलादेशले र तेश्रो किर्गिस्तानले जितेको थियो।
खेलतालिका
समूह ‘ए’ नेपाल, माल्दिभ्स र किर्गिस्तान
समूह ‘बी’ तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान
आजको खेल
तुर्कमेनिस्तानविरुद्ध अफगानिस्तान १०ः०० बजे
नेपालविरुद्ध किर्गिस्तान ४ः०० बजे
बंगलादेशविरुद्ध उज्बेकिस्तान ६ः ०० बजे
