बलियो किर्गिस्तानसंग नेपाल पराजित, सेमीफाइनल सम्भावना जिवितै

एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसंग पराजय बेहोरेको छ।

ललितपुर स्थित नेपाली सेनाको कभर्डहालमा बलियो किर्गिस्तानले नेपाललाई सोझो सेटमा ३-० ले पराजित गर्यो। पराजय पश्चात नेपालको सेमीफाइनल पुग्ने सम्भावना जिवितै रहेको छ। अब नेपालले बुधबार हुने खेलमा माल्दिभ्सलाई पराजित गरेमा नेपाल सेमीफाइनल पुग्न सक्छ।

तिन वटै सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेता पनि पहिलो सेटमा २५-२३, दोश्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-२२ ले किर्गिस्तान जित्न सफल भयो।

आजै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्यो। निकै रोचक बनेको प्रतिस्पर्धा अन्तर्गत पहिलो सेट ३२-३० ले तुर्केमिनिस्तानले जितेको थियो भने अफगानिस्तानले दोश्रो सेटमा कमब्याक गर्दै २५-१६ ले जित्यो। त्यसपछि भने तुर्केमिनिस्ताले लगातार २ सेट क्रमशः २७-२५ र २६-२४ ले जित्न सफल भयो।

प्रतियोगितामा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् । तुर्कमेनिस्तान २ पटकको विजता टिम हो। नेपाल समूह ‘ए’ मा रहेको छ जुन समुहमा नेपाललगायत कीर्गिस्तान र माल्दिभ्स रहेका छन्। समूह बी मा तुर्किमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्।

सेन्ट्रल जोन भलिबलको पहिलो र दोश्रो संस्करणमा नेपाल चौथो भएको थियो। यस्तै तेश्रो संस्करणमा नेपाल तेश्रो भएको थियो भने चौथो संस्करणमा चौथो भएको थियो। प्रतियोगिताको पहिलो र चौथो संस्करण तुर्कमेनिस्तानले जितेको थियो भने दोश्रो बंगलादेशले र तेश्रो किर्गिस्तानले जितेको थियो।

२०७६ भाद्र २, सोमबार मा प्रकाशित