तिलोत्तमा प्रिमियर लिग-३ मा थपिए ६ टिम, अक्सन भदौ १४ गते

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना हुने तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगमा ६ टिमहरु थपिएका छन्। यसअघिका दुई संस्करणमा मात्र ४ टिमहरु रहेको प्रतियोगितामा ६ टिमहरु थपिए पछी १० टिम भएसँगै प्रतियोगिताले ठुलो आकार लिने भएको हो।

यस्तै श्रावण १० गतेसम्मको लागि खुला गरिएको खेलाडी दर्ता फर्ममा नाम दर्ता गराएका २४० खेलाडी मध्येबाट १३० स्थानको लागि भदौ १४ गते खेलाडी लिलामी (अक्सन) कार्यक्रम हुनेछ।

प्रतियोगितामा साविक बिजेता समेत रहेको लुम्बिनी कासाई, उपविजेता रोयल शंकरनगर, ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गस पुराना टिमहरु हुन्। नयाँ टिमहरु रुपन्देही पल्टन, बुटवल युनाइटेड, पाल्पाली लिजेण्डस्, सुपर ११ भैरहवा, सियारी राइनोज् र तिनाउ टाइटन्सले सहभागिता जनाउने भएका हुन्।

प्रतियोगिताको बिजेता बन्ने टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले नगद २ लाख रुपैयाँ पाउनेछन्। प्लेयर अफ द सिरिजले नगद २० हजार, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार, उदाउँदो (ईमर्जिंग) खेलाडीले ५ हजार प्राप्त गर्नेछन्।

साथमा एक टिमलाई फेयर प्लेबापत नगद ४० हजार पाउँदा हरेक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय रुपैयाँ पाउनेछन्।

सर्वोत्तम सिमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न लगभग २५ लाख लागत लाग्ने अनुमान गरिएको छ।

२०७६ भाद्र ३, मंगलवार मा प्रकाशित